मुख्य समाचार
बाढीबाट तहसनहस भएको रसुवाको टिमुरे क्षेत्रबाट नेपाल प्रहरीको तालिमप्राप्त केनाइन (कुकुर)ले दुई वटा शव फेला
बाढीबाट तहसनहस भएको रसुवाको टिमुरे क्षेत्रबाट नेपाल प्रहरीको तालिमप्राप्त केनाइन (कुकुर)ले दुई वटा शव फेला

। भोटेकोशी बाढीबाट तहसनहस भएको रसुवाको टिमुरे क्षेत्रबाट नेपाल प्रहरीको तालिमप्राप्त केनाइन (कुकुर)ले दुई वटा शव फेला पार्‍यो ।

भोटेकोशीमा १० भदौ बिहान एक्कासि आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका लागि प्रहरीले आफ्ना केनाइन त्यसतर्फ परिचालन गरेको थियो ।
टिमुरे, घट्टेखोला लगायतका इलाकामा नेपाल प्रहरीका दुई वटा केनाइन परिचालन भए । जहाँ बेल्जियन सेफर्ड जातको रक्की नामको केनाइन र जर्मन सेफर्ड जातको जम्बो नामको केनाइन परिचालन गरिएका थिए ।

यी दुई केनाइनलाई ह्यान्डल गर्न ह्यान्डलर तथा असई कृष्ण सेन र वरिष्ठ हवल्दार नारायणप्रसाद देवकोटालाई खटाइएको थियो । उनीहरू बाढी आएकै दिन उक्त स्थानमा खटिएका थिए ।

टिमुरे, घट्टेखाला लगायतका क्षेत्रमा खटिएका यी दुई केनाइनले २ वटा शव र एउटा बडी पार्ट फेला पर्न सहयोग गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् ।

‘बाढी आएकै दिन केनाइनको सबै बन्दोबस्ती गरी परिचालन गरेका थियौं । जुन निकै प्रभावकारी देखिएको छ,’ प्रवक्ता काफ्ले भन्छन् ।

रक्की र जम्बो नेपाल प्रहरी केनाइन कार्यालयबाट परिचालन भएका थिए । यी दुवै केनाइन (रेस्क्यु) खोज तथा उद्धार विधामा काम गर्छन् ।

०००
काठमाडौंस्थित नेपाल प्रहरी केनाइन कार्यालयबाट बाढी आएको तेस्रो दिन १३ भदौमा अर्को केनाइन टोली परिचालन गरियो । जहाँ ह्यान्डलर सई सुदीप थापा मगर, हवल्दार किसुनलाल चौधरी, हवल्दार ऋषिबहादुर थापा, जवान सचिन जीसी, जवान सजिन्द्र तामाङ परिचालन भएका थिए ।

उनीहरूसँग दुई वटा केनाइन पठाइएको थियो । ल्याब्रोडर जातका लियो र कालु नामका दुई केनाइन परिचालित भएका थिए ।

यी दुई केनाइन भने विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, मैलुङ हाइड्रोपावर–३ ए, मैलुङ हाइड्रोपावर–३ बी, ढुंगे, देवीघाट, बेत्रावती, भैंसे, बट्टारलगायत इलाकामा परिचालित भए ।

लियो र कालुले पनि खोज उद्धारमा प्रहरी टोलीले सहयोग गरेका थिए । यिनै दुई केनाइनमार्फत मैलुङ हाइड्रोपावर–३ बीको कर्मचारी आवासमा सानो बडी पार्ट, बट्टार सोलार हाउसमा हत्केलाको भाग फेला परेको प्रहरी अधिकारीहरू बताउँछन् ।

०००
बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट पनि १३ भदौमै केनाइन परिचालन गरिएको थियो । असई रमेशबहादुर सिंह, वरिष्ठ हवल्दार अनोज अधिकारी, हवल्दार लोकबहादुर थापा, सहायक हवल्दार सागर सिंजाली ह्यान्डलरको रूपमा परिचालित भएका थिए ।



चितवनलाई इलाका बनाएर उनीहरूलाई परिचालन गरिएको थियो । उनीहरूको साथमा जर्मन सेफर्ड जातको दिप्सी नामको केनाइन पठाइएको थियो । नारायणी पुल आसपास, देवघाट क्षेत्र, दमौली गोलाघाटसम्म दिप्सी खटिएको थियो । दमौली गोलाघाटबाट दिप्सीले दुई वटा शव फेला पारेको प्रहरी प्रधान कार्यालयको रेकर्डमा छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार रसुवा बाढीमा खोज तथा उद्धार गर्न ५ वटा केनाइन र तिनलाई ह्यान्डल गर्न १० जना ह्यान्डलर परिचालन गरिएको छ । यी केनाइनहरूले शव पत्ता लगाउन सहयोग गरिरहेका छन् ।

०००
नेपाल प्रहरीको जस्तै सशस्त्र प्रहरी बलले पनि खोज तथा उद्धारका लागि केनाइन परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार रसुवा बाढीको खोज, उद्धारका लागि सशस्त्र प्रहरीका ७ वटा केनाइन परिचालित भएका छन् ।

रसुवाको टिमुरे, नुवाकोटको देवीघाट, बेत्रावती, त्रिशूली बजार, धादिङमा १/१ वटा र चितवनमा २ वटा गरी ७ वटा एपीएफ केनाइन परिचालन गरिएको कार्कीले बताए ।

७ केनाइन ह्यान्डल गर्न १४ जना ह्यान्डलर परिचालन गरिएको छ । एपीएफ केनाइनको सहयोगमा १९ वटा पुरिएका शव पत्ता लगाएर उत्खनन् गरी निकालिएको छ ।

केनाइनले नै संकेत गरेको ठाउँमा उत्खनन् गर्दा शवहरू फेला परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको केनाइनको सहयोगमा शव तथा बडी पार्ट गरी २६ वटा शव पत्ता लागेको छ ।



सुरक्षाकर्मीका यी तालिमप्राप्त केनाइनले सुँघेर शव पत्ता लगाउने काम गर्छन् । निश्चित समय काम गरेपछि उनीहरूलाई रेस्ट दिनुपर्छ ।

केनाइनले गरेको संकेतअनुसार ह्यान्डलरले काम गर्छन् । खोज तथा उद्धारमा यसअघि पनि प्रहरीले आफ्ना केनाइन परिचालन गर्दै आएको छ । २०७२ सालको भूकम्पमा पनि थुप्रै पटक केनाइन प्रयोग भएको छ ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका केनाइन रेस्क्युमा खटिएका छन् भने नेपाली सेनाको केनाइन परिचालन भएको छैन ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार प्रहरी र सशस्त्रसँग समन्वय भएर सेनाका केनाइन परिचालन गरिएको छैन । यद्यपि, स्ट्याडबाइ भने राखिएको उनको भनाइ छ ।

प्रहरी र सशस्त्रको मात्रै होइन, अहिले विदेशबाट आएका उद्धारकहरूले समेत केनाइन प्रयोग गरिरहेका छन् । दक्षिण कोरियाबाट आएको टोली ५ वटा केनाइन ल्याएर काम गरिरहेको छ ।



यसअघि भूकम्पको बेलामा पनि विदेशीहरूले नेपालमा केनाइन ल्याएर खोज तथा उद्धारको काम गरेका थिए । मान्छे पस्न नसक्ने ठाउँहरूमा कुकुर निकै उपयोगी हुने उद्धारकर्ताहरू बताउँछन् ।

सानो प्वालबाट पनि सहजै छिर्ने र सुघ्ने शक्ति निकै तेज हुने भएकाले केनाइनले मान्छे रहे/नरहेको संकेत गर्छन् । सोहीअनुसार खोज उद्धार गर्ने गरिन्छ ।

नेपाली केनाइन नेपालभित्र मात्रै सीमित छैनन्, द्वन्द्वग्रस्त मुलुकमा शान्ति मिसनको रूपमा विभिन्न देशमा खटिँदै आएका छन् । नेपाली सेनाले आफ्ना तालिमप्राप्त केनाइनलाई यूएन मिसनमा समेत लगेर काम गरेको छ ।

नेपाली सेनाले २०५५ सालदेखि दरबन्दी नै छुट्याएर केनाइन पाल्दै आएको छ । तालिमप्राप्त यस्ता केनाइन रेस्क्युदेखि विस्फोटक पदार्थसम्म पहिचानमा खटिँदै आएका छन् ।

सशस्त्र प्रहरीले २०६२ सालदेखि केनाइन पाल्दै आएको छ । सशस्त्रमा ३० वटा केनाइनको दरबन्दी छ । सीमा नाकामा पनि केनाइन परिचालन गरेर सशस्त्रले गस्ती पेट्रोलिङ गर्दै आएको छ ।

नेपाल प्रहरीले भने २०२६ सालदेखि केनाइन पाल्दै आएको छ । प्रहरीले मलेसियाबाट तालिमप्राप्त २ वटा केनाइन ल्याएर पाल्न थालेको थियो । त्यसयता अनुसन्धान, खोज उद्धार, विस्फोटक पदार्थ पहिचान, लागुऔषध पहिचानको काममा प्रहरीले केनाइन प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेशी समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ बाक्सिलाका ३५ वर्षीय विशाल गुरुङ छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्‍याउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनले सार्वजनिक स्थलहरुमा मधेशी समुदाय लक्षित भड्काउ अभिव्यक्ति लेखेका थिए।
। रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ५ जनाको हवाई उद्धार गरिएको हो । अहिलेसम्म ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको सेनाले बताएको छ । जसमा २७५ विदेशी नागरिक छन् ।
। रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल क्षेत्रमा समेत विस्तार गरिएको छ । आयोजनाको विद्युत्गृहभन्दा बाहिर बाढीबाट जोगिन भागेको हुन सक्ने सम्भावित क्षेत्र र जंगलमा सम्पर्कविहीनको खोजी गर्न दक्ष तथा अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो । कम्पनीले आफ्नै प्रयासमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला ...
। सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो । ‘विद्यमान नियमअनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न ...
। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक गरेको छ । निगमले सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त ...