: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र परेवाभिरमा देखिएको सडक समस्याले स्थानीय व्यवसायी चिन्तित बनेका छन्। राजमार्गका यी दुई खण्डमा यातायात प्रभावित भएपछि धादिङका बजार तथा व्यवसायको काठमाडौं र चितवनसँगको सडक सम्पर्कमा असर परेको व्यवसायीको भनाइ छ। यसले गर्दा संघीय राजधानी काठमाडौंमा समेत व्यापारमा असर परेको छ।
मलेखुस्थित हिलटप होटलका सञ्चालक सुयोग मरहट्टाले सडक अवरोधका कारण होटल व्यवसायसँगै आसपासका अन्य व्यापारमा समेत असर परेको बताए।
‘अहिले हाम्रो काठमाडौंसँगको सम्बन्ध नै टुटेजस्तो भएको छ। चितवन जाँदा कृष्णभिरमा समस्या छ, काठमाडौं जाँदा परेवाभिर पार गर्न सकिँदैन। यी दुई भिरका कारण व्यापार नहुँदा हामी थप चिन्तित भएका छौं,’ उनले भने।
सडक सहज नहुँदा ग्राहकको आवागमन घटेको र सामान ढुवानीमा समेत समस्या भएको उनको भनाइ छ। चाडपर्व नजिकिँदै गर्दा व्यापार बढ्ने अपेक्षा गरिए पनि सडकको अवस्थाले व्यवसायीलाई थप दबाबमा पारेको उनले बताए। कृष्णभिरमा सडक भासिएपछि यातायात सञ्चालनमा ल्याउन सडक विभागले काम तीव्र बनाएको छ। निर्माण सामग्री तथा भारी उपकरण घटनास्थलसम्म पुर्याउन कृष्णभिरमाथिको भागबाट खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउने काम भइरहेको छ।
ट्र्याक विस्तारका क्रममा रुख कटान तथा झाडी फाँड्ने कामसमेत गरिएको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार कृष्णभिरमा सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको छ। ‘सडकलाई छिटोभन्दा छिटो, चाडपर्वभन्दा अगावै सञ्चालनमा ल्याउने तयारीमा छौं। आवश्यकताअनुसार उपकरण परिचालन गरी काम भइरहेको छ। भदौभित्रै राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेका छौं,’ न्यौपानेले भने।
कामलाई तीव्रता दिन दुईवटा एक्साभेटर थप गरिएको छ। थपिएसँगै कृष्णभिरमा एक्साभेटरको संख्या सात पुगेको छ। एउटा जेसीबी, लोडर र दुईवटा बुल्डोजरसमेत परिचालन गरिएको विभागले जनाएको छ।
कृष्णभिरमा सडक पुनर्निर्माणका क्रममा प्राविधिक चुनौतीसमेत देखिएको छ। बाढीका कारण सडकको सुरक्षा पर्खाल भत्किएपछि पहिरो पुनः सक्रिय भएको र ट्र्याक खोल्ने क्रममा अपेक्षाभन्दा बढी दरार देखिएको प्राविधिक पक्षले जनाएको छ। ‘सुरक्षा पर्खाल भत्किएपछि पहिरो जान फेरि थालेको छ। अहिले ट्र्याक खोल्ने क्रममा भित्री भागमा सोचेभन्दा बढी दरारहरू देखिएका छन्,‘ सम्बन्धित प्राविधिकले भने।
देखिएका दरार सिल गर्ने तथा विज्ञहरूको परामर्शमा थप विश्लेषण गर्ने काम भइरहेको छ। कृष्णभिरमा विश्व बैंकको ठेक्काअन्तर्गतका निर्माण व्यवसायी तथा उपकरण परिचालन गरिएको छ। कामलाई तीव्रता दिन रातिको समयमा समेत फ्लडलाइट प्रयोग भइरहेको छ।
प्राविधिक जटिलताका कारण सडक पूर्ण रूपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने यकिन मिति तय गर्न कठिन भए पनि उच्च प्राथमिकताका साथ काम भइरहेको विभागको भनाइ छ। कृष्णभिरसँगै परेवाभिरमा समेत सडकको छेउतर्फको भागमा जोखिम देखिएपछि सवारीसाधन व्यवस्थापन गरी मर्मत तथा सुरक्षासम्बन्धी काम भइरहेको छ।
नागढुंगा–मुग्लिन पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार पातलेबन, परेवाभिर र चालिसे क्षेत्रमा जोखिम रहेको छ। तीमध्ये परेवाभिरमा बढी समस्या देखिएको छ। परेवाभिरमा दुई दिनदेखि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोकेर काम भइरहेको छ। भोलि बिहानसम्म दुवैतर्फी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको मानन्धरले बताए।
नागढुंगाबाट करिब सात सय मिटर तल पातलेवन क्षेत्रमा तत्काल पर्खाल निर्माण गर्न कठिन भएकाले कन्सल्टेन्टबाट डिजाइन माग गरिएको छ। अर्को सातासम्ममा काम सुरु गर्ने तयारी छ। चालिसे क्षेत्रमा तत्काल सडक भासिने सम्भावना नरहे पनि जोखिम भने रहेको मानन्धरले बताए। छहारे क्षेत्रमा आज पहिरो खसेर दुवैतर्फी सडक अवरुद्ध भए पनि अहिले एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। मुख्य राजमार्गको समस्या तत्काल समाधान नहुने अवस्था रहेकाले स्थानीय व्यवसायीले त्रिशूली नदीपारिको सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनयोग्य बनाउन माग गरेका छन्।
मरहट्टाले कृष्णभिर र परेवाभिरको समस्या समाधान हुन समय लाग्ने भएकाले तत्काल त्रिशूलीपारिको सडक सुधार गर्नुपर्ने बताए। ‘कृष्णभिर र परेवाभिरको समस्या कहिले समाधान हुन्छ भन्ने निश्चित छैन। त्यसैले त्रिशूलीपारिको बाटो तत्काल सुधार गरेर सञ्चालनमा ल्याउन सके यात्रु र व्यवसायी दुवैलाई राहत हुने थियो,’ उनले भने।मलेखुका होटल व्यवसायी राममणि कँडेलले पनि राज्यले तत्कालका लागि मात्र नभई दीर्घकालीन रूपमा वैकल्पिक सडक निर्माण र सञ्चालनमा ध्यान दिनुपर्ने बताए।
‘पहिले दैनिक १० देखि १५ वटासम्म साना गाडी माछा खानका लागि मलेखु आउने गर्थे। अहिले कृष्णभिर र परेवाभिरको समस्याका कारण सडक सम्पर्क प्रभावित भएको छ। सदरमुकामदेखि पूर्व–पश्चिमतर्फको हाम्रो सम्बन्ध नै टुटेजस्तो भएको छ,’ कँडेलले भने।
उनले गोरखाको घ्याल्चोकतर्फको सडकलाई समेत वैकल्पिक मार्गका रूपमा सुधार गरी सञ्चालन योग्य बनाउनुपर्ने बताए। मुख्य राजमार्ग अवरुद्ध भएपछि प्रयोग भइरहेको वैकल्पिक सडकको अवस्था पनि सहज छैन। वर्षाका कारण सडकमा हिलो, लेदो र खाल्डाखुल्डी छन्। साँघुरो एक लेनको सडक भएकाले सवारीसाधन फस्ने जोखिमसमेत बढेको छ।
बस, हाइस, साना गाडी तथा मोटरसाइकल सञ्चालनमा समस्या भइरहेको चालकहरू बताउँछन्। फोरह्विल ड्राइभ सवारीसाधन भने तुलनात्मक रूपमा सहज रूपमा सञ्चालन भइरहेका छन्।बस चालक रमेश थापा मगरका अनुसार मुख्य सडक अवरुद्ध भएपछि धादिङबेंसी तथा चितवनतर्फ जाने सवारीसाधनसमेत प्रभावित भएका छन्।
‘वैकल्पिक बाटोमा हिलो छ, गाडी फस्छ, तान्न पनि सकिँदैन। अब गाडी न यता आउन सक्छ, न उता जान सक्छ,’ थापाले भने।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले वैकल्पिक सडकको अवस्था सुधार गर्न सडक विभागसँग समन्वय भइरहेको बताइन्। उनका अनुसार खाल्डाखुल्डी पुर्ने, हिलो–लेदो हटाउने तथा तत्काल यातायात सहज बनाउने गरी काम अघि बढाइएको छ।
सडक अवरोधका कारण व्यापार घटेसँगै व्यवसायीहरू बैंकको ऋण र ब्याजको दबाबमा समेत परेको कँडेलले बताए। ‘व्यापार नहुँदा आम्दानी घटेको छ, तर बैंकको ब्याज र किस्ता तिर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा राज्यले व्यवसायीलाई राहत दिन ब्याजमा छुट वा सहुलियतको व्यवस्था गर्नुपर्छ,’ उनले भने।
बाढीबाट भएको क्षतिबाट पूर्ण रूपमा तंग्रिन नपाउँदै सडक अवरोध थपिएपछि व्यवसायीमा चाडपर्वको व्यापारसमेत प्रभावित हुने चिन्ता बढेको छ।सुनचाँदी व्यवसायी किसान सुनारका अनुसार बाढी आएको १३ दिन बितिसक्दा पनि सडक सहज नहुँदा व्यापारमा ठूलो असर परेको छ।
‘बाढीले मानवीय क्षति भयो, धेरै पीडा दियो। त्यसैमाथि अहिले सडकले पनि उत्तिकै दुःख दिएको छ। चाडपर्व आउन लागेको छ। यही समयमा अलि–अलि व्यापार हुने बेला हो, तर अहिले सडक अवरोधका कारण त्यो व्यापार पनि ठप्पजस्तै भएको छ,’ सुनारले भने। उनले सरकारले सडकलाई तत्काल चुरुस्त–दुरुस्त बनाएर नियमित यातायात सञ्चालनमा ल्याउनुपर्ने बताए। ‘सडक चाँडो नबनाए यो वर्षको चाडपर्वको व्यापार पनि खल्लो हुने भयो। हामी व्यवसायीलाई थप मार पर्छ,’ उनले भने।
कृष्णभिर र परेवाभिरमा सडक खुलाउने प्रयास भइरहे पनि प्राविधिक जोखिम र सडकको भौगोलिक अवस्थाका कारण तत्काल चुनौती अन्त्य हुने अवस्था छैन। मुख्य राजमार्ग सञ्चालनमा आउन समय लाग्ने भए तत्कालका लागि त्रिशूलीपारिको सडकसहित अन्य वैकल्पिक मार्गलाई सुरक्षित र सञ्चालनयोग्य बनाउनुपर्ने माग व्यवसायी तथा यात्रुबाट उठेको छ।
मुख्य राजमार्गको पुनर्निर्माणसँगै वैकल्पिक सडकको स्तरोन्नति गर्न नसकिए सडक अवरोधको मार यात्रु र चालकमा मात्र होइन, चाडपर्वको मुखमा व्यवसायीको आम्दानीमा समेत अझ गहिरिने देखिन्छ।