: रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–६, मयाङमा खोला तर्ने क्रममा चिप्लिँदा दुई जना बेपत्ता भएका छन्। शनिबार दिउँसो करिब २ः४५ बजे सोही ठाउँका ४९ वर्षीय बुद्धिराज सेन र ७० वर्षीय तीर्थराज शाही खरिढुङ्गाबाट घरतर्फ फर्कने क्रममा साङखोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाउँदा बेपत्ता भएका हुन्।
घटनाबारे वडा अध्यक्ष शंखे सेनले दिउँसो करिब २ः५५ बजे टेलिफोनमार्फत जानकारी गराएपछि सुरक्षाकर्मीको टोली खोज तथा उद्धारका लागि घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डिएसपी) खुमानन्द पाण्डेले जानकारी दिए।
प्रहरी चौकी हुकामबाट प्रहरी सहायक निरीक्षक विष्णुबहादुर थापाको कमाण्डमा चार जना, जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट प्रहरी नायब उपरीक्षक पाण्डेको कमाण्डमा १० जना, प्रहरी चौकी जाङबाट प्रहरी नायब निरीक्षक रञ्जित आचार्यको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय प्वाङबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर खड्काको कमाण्डमा पाँच जना प्रहरी खोजीका लागि खटिएका छन्।
त्यस्तै, अस्थायी प्रहरी पोस्ट धाउन्नेबाट प्रहरी सहायक निरीक्षक शान्तबहादुर रानाको कमाण्डमा तीन जना, अस्थायी प्रहरी पोस्ट कोलबाट प्रहरी सहायक निरीक्षक बलबहादुर बुढाथोकीको कमाण्डमा तीन जना तथा अस्थायी प्रहरी पोस्ट धपेबाट प्रहरी सहायक निरीक्षक जन्मजय शाहीको कमाण्डमा चार जना प्रहरी परिचालन गरिएको छ।
विभिन्न स्थानबाट प्रारम्भिक चरणमा ३३ जना प्रहरी बेपत्ता भएकाहरूको खोजतलासमा खटिएका छन्। खोजी कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाको चण्डीदल गण सुरक्षा गुल्मबाट सहायक सेनानी प्रदीप भण्डारीको कमाण्डमा सात जना तथा सशस्त्र प्रहरी बल नेपालको आश्रित गुल्म रुकुमपूर्वबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन बुढाथोकीको कमाण्डमा ११ जना पनि परिचालन गरिएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीका थप १८ जना सुरक्षाकर्मी परिचालन भएसँगै बेपत्ता भएका दुई जनाको खोजीमा हालसम्म ५१ जना सुरक्षाकर्मी खटिएका छन्।सुरक्षाकर्मीहरूले धापे, धाउन्ने, प्वाङलगायतका क्षेत्रमा खोजतलास गरिरहेका छन् । बेपत्ता भएका दुवै जनाको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।