: रसुवाको भोटेकोशीमा आएको बाढीमा परी १२ दिनदेखि सम्पर्कविहीन श्रीमानको अवस्थाबारे खबर नआएपछि कपिलवस्तुकी एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्। महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि बेपत्ता छन्।
उनको अवस्थाबारे कुनै जानकारी नआएपछि २१ वर्षीया श्रीमती प्रियंकाले आइतबार बिहान आत्महत्याको प्रयास गरेकी हुन्।
घरपरिवार र स्थानीयवासीले तत्काल उद्धार गरेपछि उनको ज्यान जोगिएको छ। प्रियंकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था स्थिर रहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
आशिष र प्रियंकाको विवाह गत वैशाखमा मात्रै भएको थियो। १७ महिनाअघि प्रहरी जवानमा नियुक्त भएका आशिष ८ महिनाअघि रसुवाको मैलुङमा कार्यरत भएका थिए।
घरका एक्ला छोरा आशिष बेपत्ता भएपछि उनका बुबा खेदु र आमा निर्मला छोराको पर्खाइमा छन्। लामो समयसम्म कुनै खबर नआउँदा परिवारमा पीडा र निराशा बढ्दै गएको छ।
भोटेकोशी बाढीपछि आशिषसहित कपिलवस्तुका ६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। बेपत्ताहरूको खोजी जारी रहेपनि हालसम्म उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।