: भगवान श्रीराधाकृष्णप्रतिको आस्थाले चढाइएको भेटी अब विपद्मा परेका नागरिकको जीवनमा सहयोग बन्ने भएको छ।विराटनगरमा शनिबार राति सम्पन्न ५९ औं श्रीराधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको २ लाख ८२ हजार ४१८ रुपैयाँ भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिने भएको हो।
रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार रथयात्राका क्रममा भक्तजनबाट उक्त रकम संकलन भएको हो।
समितिले यसपटक रथयात्रामा संकलित भेटीलाई धार्मिक प्रयोजनमा मात्र सीमित नगरी विपद्मा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको छ । संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने रेग्मीले बताए।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सयौँ परिवार प्रभावित भएका छन् । बाढीले घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका नागरिकका लागि अहिले विभिन्न क्षेत्रबाट राहत र सहयोग जुटाउने क्रम चलिरहेको छ। त्यही मानवीय अभियानमा योगदान गर्ने उद्देश्यले रथयात्राको भेटी रकम बाढीपीडितका लागि उपलब्ध गराउने निर्णय गरिएको समितिले जनाएको छ।
रथयात्राका क्रममा बाढीपीडितका लागि राहत रकम संकलन गर्न तीनवटा छुट्टाछुट्टै दानपेटिका समेत राखिएका थिए। त्यसबाहेक खट र रथमा श्रद्धालु भक्तजनले चढाएको भेटी रकमसमेत बाढीपीडितकै राहतमा उपलब्ध गराइने भएको छ । रथयात्रामा सहभागी हुने श्रद्धालुको अत्यधिक भिडभाड र सुरक्षा व्यवस्थाका कारण सबैले सिधै खट तथा रथमा भेटी चढाउन सहज नहुने भएकाले राहत संकलनका लागि छुट्टै दानपेटिका राखिएको संयोजक रेग्मीले बताए।
उनका अनुसार धार्मिक आस्थाका साथ भक्तजनले चढाएको रकमलाई यसपटक सामाजिक सेवामा लगाउने निर्णय गरिएको हो। ‘रथयात्रामा श्रद्धालु भक्तजनबाट संकलन भएको भेटीलाई यसपटक सामाजिक सेवामा प्रयोग गर्ने निर्णय गरेका छौँ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने छ । भोटेकोशी बाढीपीडितको राहतमा सहयोग पुग्ने विश्वास लिएका छौँ,’ रेग्मीले भने।
रथयात्रा धार्मिक आस्थाको पर्व भए पनि त्यसबाट संकलित रकम विपद्मा परेका नागरिकसम्म पुर्याउने निर्णयले यसको सामाजिक पक्षलाई समेत उजागर गरेको छ । ‘विपद्को पीडामा रहेका परिवारका लागि रकम ठूलो नहुन सक्छ। तर, उनीहरूको दुःखमा साथमा रहेको अनुभूति गराउन उक्त रकमले महत्वपूर्ण भूमिका खेल्ने समितिको विश्वास छ,’ रेग्मी भन्छन्।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भव्य राधाकृष्ण रथयात्रा यस वर्ष ५९औँ संस्करणका रूपमा सम्पन्न भएको हो।
रथयात्रामा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । आस्थाका साथ भगवानलाई चढाइएको भेटी अब बाढीले घरबार र आफन्त गुमाएका नागरिकका लागि राहत बन्ने छ । धार्मिक विश्वासबाट संकलित रकम मानवीय सेवामा समर्पण गर्ने समितिको निर्णयले ‘धर्म केवल पूजा र आस्थामा मात्र नभएर दुःखमा परेकाको साथमा उभिनु पनि हो’ भन्ने सन्देश दिएको छ।