: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफ्ना आफन्तको शीघ्र खोजी तथा उद्धारको माग गर्दै पीडित परिवारका सदस्यहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
बाढी आएको १३ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाहरूमा कार्यरत कर्मचारी तथा स्थानीय अझै बेपत्ता रहेकाले खोजी कार्यलाई तीव्रता दिन उनीहरूले सरकारसँग माग गरेका हुन्। दुई सातादेखि आफ्ना प्रियजनको कुनै अत्तोपत्तो नहुँदा चिन्तित बनेका परिवारजनले उद्धार प्रयासलाई थप प्रभावकारी र व्यापक बनाउन आग्रह गरेका छन्।
यसैबीच, उक्त विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले सोमबार देशभर राष्ट्रिय शोक दिवस मनाएको छ। शोक दिवसका अवसरमा मुलुकभरका सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढीले रसुवा तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।