मुख्य समाचार
आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताए
आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताए

। भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरको सफल उद्धारको नेतृत्व गरेर विश्वभर चर्चा कमाएका अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन्।

नेपालमा जारी उद्धार अभियानको स्थलगत नेतृत्व र प्राविधिक परामर्श दिइरहेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सोमबार बिहान साढे ३ बजे सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘यस्तो कहिल्यै भोगेको थिइनँ ।’

नेपालको स्थिति विगतको भन्दा भिन्न रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘अहिले नेपालमा हामीले त्यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले पहिले कहिल्यै भोगेको थिइनँ। यहाँ कुनै एउटा मात्र उद्धार होइन, फरक–फरक स्थानहरूमा एकैपटक धेरै सम्भावित उद्धारहरू सँगसँगै अगाडि बढिरहेका छन्। जहाँ हरेक ठाउँमा आ–आफ्नै खतरा, अनिश्चितता र अझै पनि जोगाउन सकिने जीवनहरू जोडिएका छन्।’

कर्तव्य र ‘धर्म’को परीक्षा

सन् २०२३ मा भारतको सिल्क्यरा सुरुङमा १७ दिनसम्म फसेका ४१ मजदुरको उद्धार कार्य स्मरण गर्दै डिक्सले नेपालको विपद्लाई अझ ठूलो जिम्मेवारीका रूपमा व्याख्या गरेका छन्।

‘सिल्क्यारामा ४१ जना जमिनमुनि थिए र हामीसँग उनीहरूलाई जीवितै घर फर्काउने एउटा असम्भवप्रायः जिम्मेवारी थियो। हामीले त्यो परीक्षा सँगै उत्तीर्ण गर्‍यौँ,’ उनले भनेका छन्, ‘तर एउटा महान् परीक्षा पास गर्नुको अर्थ परीक्षा समाप्त भयो भन्ने होइन रहेछ। यसको अर्थ सायद हामीलाई त्योभन्दा पनि ठूलो अर्को परीक्षाको जिम्मेवारी सुम्पिइएको हो।’

पाश्चात्य परम्पराले यसलाई ‘कर्तव्य’ भन्ने र सफलता अनिश्चित हुँदा पनि सही काम गर्नु दायित्व हुने उल्लेख गर्दै उनले पूर्वीय दर्शनको ‘धर्म’ सँग यसलाई जोडेका छन्।

‘एसियाली परम्पराले हामीलाई धर्मको अर्को शक्तिशाली दृष्टिकोण दिन्छ,’ डिक्सले लेखेका छन्, ‘परीक्षा हामी सफल भयौँ कि भएनौँ भन्ने मात्र होइन। बाटो जतिसुकै कठिन हुँदै जाँदा, जिम्मेवारीहरू थपिँदा र नतिजा अज्ञात रहँदा पनि हामी निरन्तर सही काममा लागिरहन्छौँ कि रहँदैनौँ भन्ने मुख्य कुरा हो।’

उनले थपेका छन्, ‘सिल्क्याराले मलाई न्यून सम्भावना र असम्भव बीचको भिन्नता सिकायो। नेपालले मलाई त्योभन्दा बढी सिकाइरहेको छ- जब एकैपटक धेरै जीवनहरू हामीमाथि निर्भर हुन्छन्, तब आशालाई अनुशासनमा, करुणालाई कार्यमा बदल्नुपर्छ र कर्तव्य सफलताको निश्चिततामा मात्र भर पर्नुहुँदैन।’

अन्तर्राष्ट्रिय टनेलिङ तथा अन्डरग्राउन्ड स्पेस एसोसिएसन (आईटीए) का वरिष्ठ विज्ञ डिक्सले रसुवा बाढीको सुरुवाती दिनहरूमा अस्ट्रेलियाबाटै नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक परामर्श दिएका थिए। उनको त्यही सुझाव र समन्वयका कारण बाढीको १० दिनपछि त्रिशूली ३ ‘ए’ को जलमग्न सुरुङबाट दुई जना प्राविधिकलाई जीवितै उद्धार गर्न सम्भव भएको थियो।

त्यसलगत्तै नेपाल आइपुगेका डिक्स अहिले आफैँ फिल्डमा खटिएका छन्। बाढी र हिलोले पूर्ण रूपमा पुरेका संरचनाभित्र पनि ‘बाँच्न सकिने हावाका सुरक्षित पकेटहरू’हुनसक्छन् भन्ने प्राविधिक मान्यताका आधारमा उनले चिलिमे जलविद्युत आयोजनालगायत विभिन्न सुरुङहरूको निरीक्षण र खोजी कार्यलाई निर्देशित गरिरहेका छन्।

उद्धार अभियानलाई अन्तिमसम्म जारी राख्ने दृढता व्यक्त गर्दै डिक्सले लेखेका छन्, ‘पूर्व होस् वा पश्चिम, सिद्धान्त एउटै हो- हाम्रो मूल्यांकन हामीले कति जीवन बचायौँ भन्नेबाट मात्र हुँदैन, बरु हामीले त्याग्न अस्वीकार गरेका जीवनहरूबाट पनि हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बाढी र हिमपहिरोजस्तो महाविपत्तिमा राजनीतिक दोषारोपण र अनावश्यक टिकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह गरेका छन्। गल्छी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को समयमा सबै नेपाली राजनीतिभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका हुन्। सभामुख अर्यालले अहिले हतारमा गरिने पुनर्स्थापना र पुनर्निर्माण पूर्ण रूपमा अस्थायी मात्र हुने बताए । ...
। नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा नं ७ का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्वबासि परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा ...
। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाइ थपिएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार, प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपिल गरिएको हो। जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको ...
। पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् । बेलायत भ्रमणका क्रममा पूर्वउपसभामुख रानाले लण्डनस्थित हाउस अफ कमनमा उपसभामुख नोक्ससँग भेट गरी नेपालमा आएको विनाशकारी बाढी र यसले पारेको प्रभाव, नेपालले पाउनुपर्ने न्याय र क्षतिपूर्तिको विषय उठाएकी हुन् । पूर्वउपसभामुख रानाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध ...
। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सोमबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सांसद बोधनारायण श्रेष्ठलगायतको उपस्थितिमा आयोजित एक कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बाढीबाट भएको क्षति, गाउँपालिकाले गरिरहेको राहत वितरण र पुनर्निर्माणको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेका छन्। अध्यक्ष खतिवडाले प्रस्तुत गरेको तथ्यांकअनुसार बाढीले गाउँपालिकाभित्रका भौतिक पूर्वाधार, कृषि ...