मुख्य समाचार
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण

। रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनेको छ । बाढीले आयोजनास्थलमा थुपारेको लेदो, हिलो र दलदलका कारण उद्धार उपकरण लैजान तथा भग्नावशेष हटाउन समस्या भएको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले आयोजनामा खोजी तथा उद्धारका लागि ९० जनाको टोली परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार बाढीपछि आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा खोजी तीव्र पारिएको छ । तर, बाढीले बनाएको दलदलका कारण उद्धार टोलीलाई आयोजनास्थलमा पुग्न र आवश्यक उपकरण परिचालन गर्न कठिनाइ भइरहेको छ ।

‘हाम्रो फोकस अहिले त्रिशूली–३ बी आयोजनामा रहेको छ । यसको हामीले रेकी भदौ १० गते नै गरेका थियौँ । तर, त्यहाँको हिलोको दलदलले हामीलाई धेरै समस्या गरेको थियो । अहिले त्यहाँ हाम्रो ९० जनाको टोलीले काम गरिरहेको छ,’ सहायक रथी थापाले भने ।

हाल आयोजनास्थलमा एउटा सानो एस्काभेटर पुर्‍याइएको छ । कतिपय ठाउँमा भने उद्धारकर्मीले साबेलको प्रयोग गरेरै हिलो र माटो हटाइरहेका छन् । आयोजनाको कार्यालयसमेत बाढीले पुरिएकाले त्यसको खोजीसमेत भइरहेको सेनाले जनाएको छ ।

सेनाका अनुसार आयोजनाको टनेलभित्र मानिस रहेको अहिलेसम्म देखिएको छैन । तर, आयोजना कार्यालय र साइड क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने भएकाले खोजी जारी राखिएको छ ।

त्रिशूली–३ ‘ए’को सुरुङबाट त्रिशूली–३ ‘बी’को सुरुङतर्फ पुग्न सकिने देखिएपछि त्यही मार्ग हुँदै एस्काभेटर लैजाने प्रयास भइरहेको छ । सुरुङमार्फत उपकरण आयोजनास्थलसम्म पुर्‍याउन सकिए खोजी तथा उद्धार थप प्रभावकारी हुने सेनाको अपेक्षा छ ।

बाढीबाट आयोजनाको कार्यालय तथा आवास क्षेत्रसँगै नजिकै रहेको सुकुम्बासी बस्तीमा समेत ठूलो क्षति पुगेको छ ।



१७८ जना अझै सम्पर्कविहीन

बाढी आएको १२ दिन बितिसक्दा पनि माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनासँग सम्बन्धित १७८ जना अझै सम्पर्कविहीन छन् ।

आयोजना निर्माण गरिरहेको फेवा कन्स्ट्रक्सनका १३ जना भने सम्पर्कमा आएका छन् । तर, प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य, परामर्शदाता कम्पनीका कर्मचारी, सुरक्षा गार्ड तथा काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आएका इन्जिनियरसहित १७८ जना अझै सम्पर्कविहीन छन् ।

आयोजना सञ्चालनमा नरहे पनि कार्यालय तथा साइटमा निर्माणसम्बन्धी काम भइरहेका बेला भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएको थियो ।

उद्धारको माग गर्दै आफन्त माइतीघरमा

सम्पर्कविहीन आफन्तको अवस्था सार्वजनिक गर्न र खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन माग गर्दै पीडित परिवारका सदस्यहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका छन् ।



उनीहरूले बाढी गएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था यकिन हुन नसकेको भन्दै सरकार र सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गरेका छन् ।

आफन्तहरूले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन, आवश्यक आधुनिक उपकरण तथा दक्ष जनशक्ति तत्काल परिचालन गर्न र सम्पर्कविहीन व्यक्तिहरूको खोजीलाई प्राथमिकतामा राख्न माग गरेका छन् ।

उद्धारमा भइरहेको ढिलाइले परिवारमा थप पीडा बढाएको भन्दै उनीहरूले सरकारले खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गर्नुपर्ने बताएका छन् ।

यता नेपाली सेनाले भने उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ । कठिन भौगोलिक अवस्था, दलदल र बाढीले थुपारेको लेदोका कारण काममा समस्या भए पनि उपलब्ध उपकरण र जनशक्तिमार्फत खोजीलाई निरन्तरता दिइएको सेनाको भनाइ छ ।

आयोजनास्थलमा अझै ठूलो परिमाणमा हिलो तथा भग्नावशेष रहेकाले सम्पर्कविहीन सबैको अवस्था पत्ता लगाउन समय लाग्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडक खण्डबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान पौने ३ बजेको समयमा भाबरबाट खरङ्गा तर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नं. को कारबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ग२च ६१५ नम्बरको जिपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको ...
: बाढीले पुल बगाएपछि अनिश्चितकालका लागि अवरुद्ध बनेको मनास्लु पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन वैकल्पिक बाटो बनाउन थालेका छन्। चुमनुब्री गाउँपालिका–४ नामरुङफेदी, सुक्समस्थित पुल बूढीगण्डकीले बगाएपछि अवरुद्ध बनेको पदमार्ग सुचारु गर्न स्थानीयले अल्पकालीन विकल्प खोजेका हुन् । थेराङ खोलाको बाढीले बूढीगण्डकीमा पानीको बहाव बढ्न गई नाम्रुङ खण्डमा दुईवटा झोलुङ्गे पुल बगाएपछि अवरुद्ध बनेको मनास्लु–लार्के पास पदमार्ग ...
। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भदौ २२ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै ...
: रसुवा भोटेकोशी बाढीको विपदमा परेका व्यक्तिको पीडामा साथ दिन काठमाडौं उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन आज काठमाडौँमा नागरिक ऐक्यवद्धता र्‍याली आयोजना गरिएको छ। बाढीमा परेर मृत्यु वरण गरेका व्यक्तिहरुलाई सामुहिक सम्झना, श्रद्धाञ्जली र समवेदना प्रकट गर्दै दुःखमा परेकाहरुको सान्त्वानाका लागि र्‍याली आयोजना गरिएको हो। स्थानीयको योजनामा सुरु भएको र्‍यालीमा ठुलो संख्यामा मानिसहरु ...
। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार माग गरिएको हो। आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति ...