: प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरङभित्र फसेका व्यक्तिहरुको उद्धारको प्रयास अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले स्रोत, साधन र समयको सीमिताताभित्र पनि उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका हुन्। बाढीका कारण रसुवा र नुवाकोटमा गरी विभिन्न आयोजनाहरु प्रभावित भएको उल्लेख गर्दै शाहले सुरक्षाकर्मीहरु निरन्तर खोज तथा उद्धारको प्रयासमा रहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा हेडवक्र्सका सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति छ। त्यहाँ सुरुङको २७५ मिटरसम्म नेपाली सेना पुगेको भएपनि मानिस फेला नपरेको शाहको भनाई छ। उनका अनुसार हेलिकप्टरबाट मिनी एस्काभेटर झारेर त्यस क्षेत्रमा खोज कार्य जारी रहेको छ।
लाङटाङ जलविद्युत् आयोजनामा खोज कार्यलाई प्रभावकारी बनाउन बबक्याट एस्काभेटर र सोही क्षेत्रमा रहेको अर्को एस्काभेटर प्रयोग भईरहेको शाहले उल्लेख गरेका छन्। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङमा थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी कार्य जारी रहेको शाहले जानकारी दिएका छन्।
त्रिशूली ३ ‘बी’ आयोजनामा पनि खोज कार्यका लागि थप उपकरण लग्ने क्रम जारी रहेको थप गहिराइसम्म उत्खननको काम भईरहेको प्रधानमन्त्री शाहको भनाई छ। उनका अनुसार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोलीले जोखिमपूर्ण स्थितिमा पनि निरन्तर सुरुङभित्र खोजी कार्यलाई तीव्रता दिएको छ।