। मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडक खण्डबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान पौने ३ बजेको समयमा भाबरबाट खरङ्गा तर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नं. को कारबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
ग२च ६१५ नम्बरको जिपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा रोकेर जाँच गरेको थियो । जाँचको क्रममा कारको सिटमा प्लास्टिकले बेरिएको १३ पोका गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
स्कर्टिङ गर्दै आएको गाडी रोक्न खोज्दा दुवै गाडीमा रहेका व्यक्तिहरू भाग्न खोजेका थिए । तर, कार चालक चितवनको माडी नगर पालिका-५ धोबाहाका ५६ वर्षीय देवनारायण महतो र जिप चालक चितवनको भरतपुर महानगरपालिका-२४ का ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएर सोधपुछ गर्दा जिपमार्फत कारलाई स्कर्टिङ गरिएको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।