। पहिरोका कारण तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगने खोलामा गएको पहिरो हटाएपछि मंगलबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको हो ।
भदौ २० गते गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरो हटाएर आज भदौ २३ गते दिउँसो २:४५ बजेदेखि साना तथा मझौला सवारीसाधन दोहोरो रूपमा आवतजावत गर्न सक्ने गरी सडक सञ्चालनमा ल्याइएको सम्बन्धित निकायले जनाएको छ ।
राजमार्ग सञ्चालनमा आएपछि सुर्खेत, दैलेख हुँदै कालिकोट, जुम्ला तथा मुगुतर्फ जाने र ती जिल्लाबाट सुर्खेततर्फ आउने सवारीसाधनलाई सहज भएको छ ।
वर्षायाममा कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेकाले यात्रुले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।
पहिरोका कारण सडक पुन: अवरुद्ध हुन सक्ने जोखिम रहेकाले सम्बन्धित निकायले सडकको अवस्थाबारे नियमित निगरानी गरिरहेको जनाएको छ ।