। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ ।
शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् ।
हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने वा राहत सामग्री वितरणमा खर्च गर्ने योजना नरहेको कंशाकारले बताए ।
उनका अनुसार दीर्घकालीन योजना बनाएर बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा र स्वास्थ्यमा उक्त रकम खर्च गरिनेछ ।
‘हामी प्रभावित क्षेत्रको शिक्षामा खर्च गर्न चाहन्छौं, जुन दीर्घकालीन होस्,’ कंशाकारले भने, ‘परियोजनाकै रूपमा यसलाई अघि बढाउने हाम्रो विचार छ ।’
‘त्यो प्रोजेक्ट भनेको स्कुल जाने बालबालिकालाई सहयोग गर्ने खालको हुन सक्छ । हेल्थ पोस्ट र घरहरू बनाउने हुन सक्छ,’ कंशाकारले भने, ‘यसका लागि हामी प्रभावित क्षेत्रको रेकी (पहिचान) गर्नेछौं ।’
परियोजना प्रभावकारी भए मिस कस्मोले थप रकम सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको कंशाकारले बताए ।