। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै सभापति थापाले भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गरे । थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीडाभन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीडा ठूलो रहेको बताए।
उनले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने बताए। त्यस्तै, भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको ध्वंसबारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ,’ थापाले भने।
सरकारले भदौ २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले अनुसन्धान कहाँ पुगेको भन्ने प्रश्न गरेका छन्। भदौ २३ गतेको घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरे।
थापाले भदौ २३ मा दमन गर्ने, हिंसा भड्काउने तथा भदौ २४ मा अपराध गर्ने सबैलाई कानुनी कारबाही गर्नुपर्ने बताए। ‘अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ,’ उनले भने।
के भने थापाले ?
आज भाद्र २४ गते हाम्रो लागि विशेष दिन, जननायक बीपी कोइरालाको जन्मदिवस। बीपीप्रति हार्दिक श्रद्धासुमन।
तर गएको वर्ष भाद्र २४ गते जे भयो, त्यसपछि भाद्र २४ लाई केवल बीपी कोइरालाको जन्मदिनका रूपमा मात्र सम्झन पाउने सुविधा हामीसँग रहेन।
भाद्र २४ गते मेरो घर जल्यो। मेरो परिवार झन्डै त्यही आगोमा परेको थियो। मेरो मात्र होइन, त्यो दिन धेरैको घर जल्यो। धेरै सार्वजनिक सम्पत्तिहरू क्षणभरमै जलेर नष्ट भए। घरहरू मात्रै जलेका थिएनन्, त्यो दिनले थुप्रै परिवारलाई कहिल्यै नमेटिने घाउ पनि दिएको छ।
तर म र म जस्ता व्यक्तिहरूको जलेको घरको पीडा गौण हुन्छ, जुन बेला हाम्रा अगाडि त्यो दिन वा त्योभन्दा एक दिनअघि आफ्नो सन्तान गुमाएका आमाहरू उभिनुहुन्छ। हाम्रो पीडा गौण हुन्छ, जतिखेर त्यस घटनामा परेर घाइते भएका, जसको त्यो दिनबाट जीवन बदलिएको छ, ती युवाहरू अगाडि आएर उभिन्छन्।
त्यसैले भाद्र २४ लाई हिजो सम्झँदै गर्दा पनि मैले मेरो घर जलेको वा मेरो पीडाको एउटा क्षणका रूपमा सम्झिनँ। आज पनि सम्झिन्नँ। विषय हाम्रो होइन। विषय त्योभन्दा व्यापक छ।
यो विषयसँग सम्बन्धित केही प्रश्नहरू छन्, जुन प्रश्नहरू अनुत्तरित छन्। ती प्रश्नहरूको उत्तर खोजिनुपर्छ। नभए सिंगो समाजले यसको मूल्य चुकाउनुपर्छ भन्ने म ठान्छु।
भाद्र २४ भन्दा पहिला भाद्र २३ आउँछ। भाद्र २३ का बारेमा हिजो मैले केही कुरा राखिसकेको छु।
भाद्र २३ भनेको नौजवान युवाहरूले आफ्नो आक्रोश व्यक्त गरेको दिन थियो। अदम्य साहस प्रकट गरेको दिन थियो। जेनजी युवाहरूको विद्रोहको दिन थियो।
त्यो दिन ती युवाहरूमाथि राज्यको चरम दमन भएको थियो। त्यो दिन शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरेर त्यसलाई उक्साउने काम भएको थियो। ती उक्साउनेहरू को थिए? तिनको पहिचान हुनुपर्छ। त्यो दमन गर्नेहरूले सजाय पाउनैपर्छ।
भाद्र २३ को त्यही घटनापछि भाद्र २४ आयो। स्वाभाविक रूपमा त्यहाँ आवेग थियो, आक्रोश थियो। तर तपाईं-हामी सबै जान्दछौँ, आवेग र आक्रोशलाई प्रयोग गरेर त्यहाँ एउटा ठूलो प्रायोजित हिंसा पनि भयो।
नेपालले अहिलेसम्म कहिल्यै नदेखेको ध्वंस त्यो दिन देख्यो।
को थिए सिंहदरबार जलाउने? को थिए अदालत जलाउने? को थिए त्यो दिन त्यत्रो ठूलो ध्वंस गराउने र उक्साउने? को थियो योजना बनाउने? कसले गर्यो? किन आज कोही चुइँक्क बोल्दैन? किन आज कसैले त्यसको जिम्मा लिँदैन? यसको जवाफदेहिता कसैले लिनुपर्दैन? यो गल्ती गर्ने कसैले सजाय पाउनु पर्दैन?
अनि त्यत्रो ठूलो राज्य संयन्त्र क्षणभरमा काम नलाग्ने कसरी भयो? यसको खोजी हामीले गर्नु पर्दैन?
प्रश्न जवाफदेहिताको हो। प्रश्न दण्डहीनताको हो।
आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ।
यो दण्डहीनता यत्तिकै रह्यो, त्यो दिन अपराध गर्नेले अपराध गरेको कुराको सजाय पाउने अवस्था हामीले बनाउन सकेनौँ भने यो समाज कहिल्यै न्यायपूर्ण बन्न सक्दैन। यो समाज कहिल्यै सभ्य बन्न सक्दैन।
यो सरकार निर्वाचित हुनेबित्तिकै सरकारले प्रतिबद्धता गरेको थियो कि हामी २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान र छानबिन गर्छौँ। कहाँ पुग्यो अनुसन्धान? कहाँ भयो छानबिन?
त्यसैले सरकारसँग हाम्रो प्रश्न छ। माग छ। तपाईंले अल्मल्याउन पाउनुहुन्न।
भाद्र २३ गतेको जुन अध्ययन भएको छ, त्यसको पनि पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। त्यो दिन जस-जसले दमन गरेको छ, उसले सजाय पाउनैपर्छ। हिंसा भड्काउनेहरूको पहिचान हुनैपर्छ। र २४ गते अपराध गर्नेहरूको पनि निष्पक्ष छानबिन भएर उनीहरूले पनि सजाय पाउनुपर्छ।
सरकारमा बस्ने साथीहरूले हेक्का राख्नुहोला, ख्याल गर्नुहोला। काल पल्किसकेपछि त्यसले यो र त्यो भन्दैन।
आज पीडामा अरू कोही परेको होला, तर अपराध गर्नेलाई सजाय दिएन भने भोलि त्यो पीडा जसले पनि पाउन सक्छ।
आगो लगाउनेहरूले त्यसको सजाय पाएनन् भने आगो लगाउने कुराले प्रश्रय पाइरहन्छ।
यो विषयमा सरकारमा बस्ने साथीहरूले हेक्का राख्नुहोला।
हामी हाम्रो ठाउँबाट प्रस्ट छौँ। भाद्र २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ। २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ।
अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ।