। नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी शहीदहरूको मात्रै सालिक किन राख्न खोजिएको हो भनेर प्रश्न उठाएको छ ।
बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै सांसद बलावती शर्माले भनिन्, ‘सरकारले संघीय संसद् परिसरमा सबै क्रान्ति र आन्दोलनका शहीदरूलाई वेवास्ता गर्दै जेनजी शहीदहरूको मात्रै संसद् परिसरमा संसद् सचिवालयको जानकारी र स्वीकृति बिना नै सालिक अनावरण गर्नुको रहस्य के हो ?’
यसबारे पार्टीले भर्त्सना गरेको उनले बताइन् । उनले भनेकी छन्, ‘सरकारले यो व्यवस्था प्राप्तीका लागि रगत बगाउने शहीदहरूप्रति गरेको उपेक्षाप्रति हाम्रो दल नेपाली कम्युनिस्ट पार्टी घोर भर्त्सना गर्दछ ।’
वर्तमान संघीय लोकतान्त्रिक शासन व्यवस्था ल्याउन विगतमा भएको संघर्ष पनि उनले स्मरण गरिन् ।
‘यो व्यवस्था २०५२ सालबाट सुरु भएको महान जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन र मधेश आन्दोलनको जगमा स्थापित व्यवस्था हो’ उनले भनिन् ।
यही भदौ २१ गते सिंहदरवारभित्र संसद् भवन परिसरमा जेनजी शहीद स्मारक पार्क तथा सालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा जेनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले स्मारक पार्क तथा सालिक र स्तम्भ निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उदेश्यले स्मारक पार्क, सालिक तथा स्तम्भ निर्माण गर्न लागिएको सरकारले बताएको छ ।
तर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्ववस्थासहित नेपालमा लोकतान्त्रिक व्यवस्थाका लागि लडेका शहीदहरूकोकिन पार्क र सालिक नराखिएको भनेर नेकपाले प्रश्न उठाएको हो ।