: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको धम्कीपूर्ण अभिव्यक्तिले एलपी ग्यास उद्योगीहरू बिच्किएका छन् । बजारमा ग्यास आपूर्ति सहज बनाउन सहकार्य गर्नुपर्ने समयमा मन्त्रीले व्यवसायीलाई ‘पाता कस्ने’ र ‘खारेज गर्ने’ चेतावनी दिएपछि विवाद चर्किएको हो ।
बुधबार संसदीय समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी र कर्मचारीको मिलेमतोका कारण ग्यास क्षेत्रमा सुधार गर्न नसकिएको आरोप लगाइन् । ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन । मेरो अन्तिम निचोड यही हो,’ उनले भनेकी थिइन् ।
मन्त्री यादवले नेपालमा रहेका ५८ वटा ग्यास उद्योगमध्ये धेरैजसो अनावश्यक रहेको भन्दै दुई वटाबाहेक अरू खारेज गर्नुपर्ने दाबी गरिन् । उनले लोक सेवा पास गरेर आएका कर्मचारीको ब्रेन गलत दिशामा लागेको आरोपसमेत लगाइन् । मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले भने ग्यास आपूर्तिको समस्या समाधान गर्नुपर्ने बेलामा व्यवसायीलाई धम्की दिएको भन्दै प्रधानमन्त्री कार्यालय गुहारेको बताए ।
व्यवसायीहरूले ग्यास अभावको मुख्य कारण सरकारको गलत नीति रहेको दाबी गरेका छन् । आधा सिलिन्डर ग्यास बेच्ने सरकारको दीर्घकालीन निर्णयले समस्या झनै जटिल बनाएको उनीहरूको भनाइ छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सरकारकै नीतिले अभाव भएको बताउँदै भने, ‘हामीले १५ दिनका लागि मात्र आधा सिलिन्डर बेच्नुपर्छ भनेका थियौं, सरकारले ३ महिना बेच्यो । अब दैनिक ८० हजार सिलिन्डर उपत्यकामा नभित्रिएसम्म समस्या समाधान हुँदैन ।’