: बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ।
कोल्हबी नगरपालिका-२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद गरिएको हो।
अवैध गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोल्हबी र सशस्त्र प्रहरी बल सुरेक्षा बेस कोल्हबीको सुरक्षाकर्मीसहित वन कार्यालयका कर्मचारी र वन रक्षकको टोली तत्माको घरमा पुगेको थियो। घरको मुख्य गेटमा लगाइएको ताला फुटाएर हेर्ने क्रममा लुकाएर राखेको अवस्थामा उक्त वस्तुहरु बरामद भएको हो।
अवैध सामग्री फेला परेपनि घरका सदस्य फरार छन्। उनीहरूको खोजी अघि बढाइएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका छन्। उक्त घरबाट अवैध हातहतियारको प्रयोग गरी वन्यजन्तुको शिकार, काठको चोरीतस्करी हुने गरेको खुलेपछि प्रहरी र वन कार्यालयले अनुसन्धान थालेको छ।