: नेपाल भलिबल लिग (एनभिएल)को बुधबारको दोस्रो खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई पराजित गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ सेटले पराजित गरेको हो।
काठमाडौंले हालसम्म अपराजित रहेको कर्णाली शिवराजलाई पराजित गरेको हो। काठमाडौंको भने यो लगातार तेस्रो जित हो।
काठमाडौं रेड्सले कर्णाली शिवराजलाई २८-२६, २५-१८, २३-२५ र २५-२१ ले हराएको हो।कर्णाली शिवराजले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सलाई पराजित गरेको थियो। दोस्रो खेलमा खप्तड फाल्कन्सलाई र तेस्रो खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गरेको थियो।
काठमाडौं रेड्स पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग पराजित भएको थियो। त्यसपछि भने टिमले लगातार जित दर्ता गरेको छ। दोस्रो खेलमा मधेश वरियर्सलाई हरायो। तेस्रो खेलमा सगरमाथा स्म्यासर्सलाई हराएको थियो।
आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले खप्तड फाल्कन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। आजको खेलमा हार बेहोर्दै खप्तड भने प्रतियोगिताबाट बाहिरिएको छ।
जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोबिन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल भदौ २८ मा हुनेछ ।