: प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरुले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलको बैठकले सरकारी राहत–उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।
सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसद्मा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन्।
बैठकले हालसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्वतयारी र सुरुआती चरणमा पर्याप्त सल्लाह–परामर्श एवं समन्वय नहुँदा केही कमी कमजोरी देखिएको निष्कर्ष निकालेको अर्यालले जानकारी दिइन्।
उनले जनताको धैर्यता टुट्न नदिन सरकारले तत्काल अस्थायी पुनर्स्थापनाको काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएको उल्लेख गरिन् ।
राष्ट्रिय विपत्तिको घडीमा दलीय राजनीतिक स्वार्थ र एजेन्डाहरूलाई पूर्ण रूपमा पन्छाएर सरकारसँग हातेमालो गर्ने प्रतिपक्षी दलहरूको साझा प्रतिबद्धता रहेको उनको भनाइ छ