: राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीका बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र बनाउन माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बुर्लाकोटीले हालसम्म भएका खोज तथा उद्धारका कामहरू विपद्को विशाल क्षतिको तुलनामा अपुग देखिएकाले थप दक्ष जनशक्ति, आधुनिक उपकरण र स्रोत–साधन परिचालन गरी खोजी कार्य तीव्र बनाउन माग गरेका हुन् ।
उनहाले उद्धार गरिएका, बेपत्ता रहेका तथा मृतकहरूको प्रमाणित आधिकारिक विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुर्याउन र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे । उनले भेटिएका शवहरूको पहिचान सहज बनाउन तत्काल डीएनए परीक्षण गर्ने व्यवस्था, आवश्यक उपकरण तथा विज्ञ जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गरे।
त्यस्तै उनले आगामी दिनमा बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा कुनै पनि मानव बस्ती, सार्वजनिक कार्यालय वा भौतिक संरचना निर्माण नगर्न सुझाव दिए । जोखिमयुक्त क्षेत्रमा विपद्बाट बच्न आवश्यक पूर्वतयारी र जनचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।