: सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब १०ः३० बजे लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले सिक्रोन नहर क्षेत्रमा शंकास्पद अवस्थामा रहेका चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मिर्चैया–१२ सिक्रोनका २४ वर्षीय दीपक सहनी, २० वर्षीय सुनिल कापर, २५ वर्षीय सरोज कापर र २२ वर्षीय पप्पु कापर रहेका छन्।
प्रहरीका अनुसार खानतलासी गर्दा दीपक सहनीले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५६० मिलिग्राम बरामद भएको छ। साथै उनीहरूको साथबाट चार थान मोबाइल र नगद २ हजार ५ सय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।