मुख्य समाचार
कृष्णभिरको कहर: सधैंलाई पार पाउने रहर
कृष्णभिरको कहर: सधैंलाई पार पाउने रहर

। त्रिशूली नदीको निरन्तर कटानका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने कृष्णभिरमा सडकको ठूलो भाग भासिएपछि राजमार्ग सञ्चालनमा ल्याउने विषय झन् जटिल बनेको छ।

तत्काल सडक खुलाउन कृष्णभिरकै भित्तो काटेर डाइभर्सन बनाउने काम भइरहेको छ भने दीर्घकालीन समाधानका लागि वैकल्पिक रुटको सम्भाव्यतासमेत अध्ययन भइरहेको छ।




बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा त्रिशूली नदीले सडकको तल्लो आधार कटान गरेपछि करिब १५० मिटर लम्बाइमा राजमार्ग भासिएको सडक विभागले जनाएको छ। नदीतर्फको कटानसँगै सडकको माथिल्लो भागमा समेत चिरा देखिएपछि थप जोखिम देखिएको छ।

सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलका अनुसार अहिले कृष्णभिरको भित्तो काटेर अस्थायी रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेको छ। त्यसका लागि दैनिक विभिन्न मेसिन परिचालन गरी काम भइरहेको पौडेलले बताए । ‘दुवैतर्फबाट भिर काट्ने काम भइरहेको छ। अहिले परीक्षणका रूपमा डाइभर्सन खोल्ने काम भएको छ,’ पौडेलले भने।





कटान गरिएको स्थानभन्दा माथिल्लो भागमा देखिएको चिरा पुरानो पहिरोले थुपारेको माटोको भाग हो। उक्त चिराबाट पानी भित्र पस्न नदिन प्लास्टिकले छोप्ने काम भएको उनले बताए । भिरको तल्लो भागमा कटान गर्दा जमिन थर्किएर चिरा परेको र त्यसको असर मुख्य चट्टानमा नपरेको प्रारम्भिक निष्कर्ष रहेको पौडेलको भनाइ छ।

जोखिम मोलेरै अस्थायी डाइभर्सन

कृष्णभिरमा डाइभर्सन खोल्ने कामको जिम्मेवारी पृथ्वी राजमार्ग मुग्लिन–मलेखु निर्माण आयोजनालाई दिइएको छ। करिब सात मिटर चौडाइ र १५० मिटर लम्बाइमा भित्तो काटेर अस्थायी सडक बनाउने काम भइरहेको छ।

आयोजनाका परियोजना प्रमुख सजना अधिकारी भन्छिन्, ‘दैनिक स्काभेटर वारपार गरे पनि अन्य सवारीसाधनलाई भने गुड्न दिइएको छैन।’

विज्ञ तथा प्राविधिकसहित करिब १५ जना र ६० जना कामदार उपकरणसहित खटिएका छन्। तर लगातारको वर्षाका कारण काम चुनौतिपूर्ण बनेको छ। भित्तो काट्दा थप पहिरो खस्न सक्ने तथा त्रिशूलीको जलस्तर बढेमा तल्लो भागमा पुन: कटान हुन सक्ने जोखिम भने कायमै रहेको उनको भनाइ छ।

भूगर्भविद् संजोग खनालका अनुसार तत्काल सडक सञ्चालनमा ल्याउनुपर्ने दबाबका कारण जोखिम मोलेरै काम गर्नुपरेको छ। ‘अहिले ग्राउन्ड जिरोबाट काम भइरहेको छ। पहिलो प्राथमिकता सडक सञ्चालनमा ल्याउनु हो। त्यसपछि चिरा र भूधरातलको विस्तृत अध्ययन गर्नुपर्छ,’ खनालले भने।



कृष्णभिरको पहाडमा विगतमा गएको पहिरोले करिब ६० डिग्रीको कोण बनाएको थियो। अहिले त्यसको केही भाग खसेको छ। माथिल्लो भागमा तत्काल बस्ती नजिक नरहेकाले बस्तीमा ठूलो असर पर्ने सम्भावना कम भए पनि सडक प्रयोग गर्ने यात्रुका लागि जोखिम भने रहेको उनले बताए।

स्थायी समाधान होइन डाइभर्सन

सडक विभागका अधिकारीहरूकै अनुसार कृष्णभिरमा अहिले निर्माण गर्न लागिएको डाइभर्सनलाई स्थायी समाधानका रूपमा लिइएको छैन। भूप्राविधिक अवस्था र त्रिशूली नदीको कटानको जोखिम मूल्याङ्कन गरेपछि मात्र दीर्घकालीन संरचना निर्माण गर्ने विषयमा निर्णय हुनेछ।

कृष्णभिरको जोखिमबारे छलफल गर्न पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको नेतृत्वमा सडक विभागका महानिर्देशक विजय जैसीसहित विज्ञहरूको बैठक बसेको थियो।

बैठकले तत्काल राजमार्ग सञ्चालनमा ल्याउन बाध्यात्मक अवस्था रहे पनि भिर कटान गर्दा थप जोखिम नहुने गरी प्राविधिक डिजाइन तयार गर्न निर्देशन दिएको थियो। यसका लागि जियोटेक्निकल सोसाइटीलाई समेत प्राविधिक डिजाइन तयार गर्ने जिम्मेवारी दिइएको छ।

विज्ञहरूले भने कमजोर भूधरातलमा रहेको कृष्णभीरको विस्तृत भूप्राविधिक परीक्षण नगरी स्थायी संरचना बनाउँदा भविष्यमा फेरि ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्।

दुई विकल्पमा अध्ययन

कृष्णभिरमा सडक पूर्णरूपमा भासिएपछि पृथ्वी राजमार्ग सञ्चालनका लागि अहिले दुई मुख्य विकल्पमा छलफल भइरहेको छ।

पहिलो, कृष्णभिरकै भित्तो काटेर सडक सञ्चालन गर्ने हो। यही विकल्प अनुसार अहिले अस्थायी डाइभर्सन निर्माण भइरहेको छ। तर, विगतमा समेत पहिरो र सडक भासिने समस्या देखिएको क्षेत्र भएकाले यसलाई स्थायी समाधान मान्न सडक विभाग स्वयं तयार छैन।



दोस्रो, त्रिशूली नदीको पारिपट्टिबाट गोरखा हुँदै बेनीघाटतर्फ सडक निकाल्ने हो। यसका लागि नयाँ रुटको सम्भाव्यता, लागत र भूप्राविधिक जोखिमबारे अध्ययन भइरहेको छ।

भूगर्भविद् खनालका अनुसार दीर्घकालीन समाधानका लागि कृष्णभिरमा सुरुङ निर्माण गर्ने वा नदीको पारिपट्टि पुल बनाएर सडक लैजाने विकल्पसमेत अध्ययनको विषय बनेको छ।

‘भविष्यमा यो समस्या दोहोरिन नदिन सुरुङमार्ग वा पारिपट्टिबाट पुलमार्फत सडक लैजाने विकल्पमा प्राविधिक र लागत अध्ययन भइरहेको छ,’ उनले भने।

रिटेनिङ वालको जगमाथि प्रश्न

भूगर्भशास्त्रीहरूले कृष्णभिरमा यसअघि निर्माण गरिएका संरचनाको डिजाइन र नदी कटानको जोखिम मूल्यांकनमाथि समेत समीक्षा आवश्यक रहेको बताएका छन्। रसुवाको भीषण बाढीपछि त्रिशूलीमा आएको पानीको बहाब र धार परिवर्तनले सडकको जगमा ठूलो असर गरेको हो।

उनका अनुसार भोटेकोशीबाट बाढीले बगाएर ल्याएका ढुंगा, माटो, काठलगायतले सडकको आधारमा प्रहार गर्दा कटान तीव्र भएको हो। कृष्णभिरमा करिब सय मिटर लामो रिटेनिङ वाल भत्किएपछि सडक भासिएको उनको भनाइ छ।



‘रिटेनिङ वाल निर्माण गर्दा गहिरो पाइल फाउन्डेसनमा विशेष ध्यान दिनुपर्छ। नदीको कटान कुन तहसम्म पुग्न सक्छ भन्ने पर्याप्त मूल्यांकन नभए भविष्यमा यस्तै क्षति दोहोरिन सक्छ,’ उनले भने।

पानीको बहाब धेरै भएका कारण तल कतिसम्म कटान छ भनेर अध्ययन गर्न नसकिएको सम्बद्धहरू बताउँछन्। उनले पुराना संरचनाको नियमित मर्मत र सुधारमा समेत ध्यान दिनुपर्ने बताए।

पृथ्वी राजमार्गको ठूलो भार

कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यो सडक हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने भएकाले राजमार्ग बन्द हुँदा काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने यातायात व्यवस्थामै प्रत्यक्ष असर परेको छ।

चाडपर्व नजिकिँदै गर्दा राजमार्ग छिटो सञ्चालनमा ल्याउनुपर्ने दबाब समेत बढेको छ। यही कारण सडक विभागले जोखिमका बीच तत्काल डाइभर्सन निर्माणलाई प्राथमिकता दिएको हो।

यसअघि २०५६ सालमा कृष्णभिरमा ठूलो पहिरो गएको थियो। त्यसबेला सडकलाई तलबाट उकासेर मर्मत गरिएको थियो भने भित्तातर्फ पहिरो रोकथामका काम गरिएको थियो। गत वर्ष पनि सोही क्षेत्रमा सडक केही भासिएपछि मर्मत गरिएको थियो। यसपटक भने त्रिशूली नदीले सडकको तल्लो आधार नै काटेपछि समस्या थप गम्भीर बनेको छ।

सडक खुलेर मात्र पुग्दैन

कृष्णभिरमा अहिलेको मुख्य चुनौती सडक खुलाउनु हो। तर त्योसँगै आउने प्रश्न हो, सडक खुलेपछि त्यो कति सुरक्षित हुन्छ ?

बाढीको जोखिम अझै केही समय कायम रहने भएकाले अस्थायी डाइभर्सन सञ्चालनमा ल्याएपछि पनि नियमित निगरानी र जोखिम मूल्याड्ढन आवश्यक हुने विज्ञहरूको भनाइ छ।



सडक विभागले पनि अहिलेको डाइभर्सनलाई परीक्षणका रूपमा मात्र हेरिएको जनाएको छ। भूप्राविधिक अध्ययनबाट सुरक्षित देखिएमा मात्र त्यसलाई थप विस्तार वा दीर्घकालीन संरचनाका रूपमा विकास गर्ने योजना रहेको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले बताए ।

त्यसैले कृष्णभिरको तत्कालीन समाधान भित्तो काटेर सडक खुलाउने भए पनि दीर्घकालीन प्रश्न भने त्यही ठाउँमा सडक राख्ने कि रुट नै परिवर्तन गर्ने भन्नेमा केन्द्रित भएको छ।

देशकै प्रमुख मध्येको एक पृथ्वी राजमार्गलाई दीर्घकालसम्म सुरक्षित बनाउन नदीको कटान, पहाडको भूबनोट, संरचनाको क्षमता र वैकल्पिक रुटको लागतसहित समग्र अध्ययन गरेर निर्णय लिनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका दुई दर्जन नेताहरूले संस्थापन र संस्थापन इतर समूहलाई १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका छन् । पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका दुई दर्जन नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर दुवै समूहलाई महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ । रसुवा भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्‍याएको क्षति सम्बोधन गर्दै पुनर्निर्माणलाई अझ सुरक्षित, उत्थानशील र दीर्घकालीन बनाउन ऊर्जा मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको हो । बैठकमा ऊर्जामन्त्री ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले विपद्पछिको अवस्थामा काम गर्न गरेको प्रस्तावअनुसारको सर्वदलीय संसदीय विशेष समिति बनाउन माग गरेको छ । नेकपाको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका नेता वर्षमान पुनले विपद् व्यवस्थापन कुनै एउटा मन्त्रालय, कुनै एउटा सरकार वा कुनै एउटा तहको मात्र जिम्मेवारी नभएको बताए । राजनीतिक दल, सुरक्षा निकाय, विज्ञ, स्थानीय ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले अस्पताल बाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी हुन् । ‘मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन् तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु ...
। नेकपाले गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनामा संलग्नलाई कारबाही नभएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। नेकपाको तर्फबाट सांसद वर्षमान पुनले दलको तर्फबाट बोल्दै यसबारे ध्यानाकर्षण गराएका हुन्। उनले जेनजीहरूको प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन्। उनले युवाहरू सडकमा किन आए?, राज्यप्रति असन्तुष्टिको कारण केहो ?, राजनीतिक नेतृत्वप्रति अविश्वास पैदा कसरी पैदा ...