: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ शीतलबजारनजिक सडक विस्तार तथा निर्माणका लागि तीन वटा ठूला चट्टान नेपाली सेनाले ब्लास्टिङ गरी हटाउन थालेको छ।
सडक विभागको अनुरोधपछि नेपाली सेनाको समन्वयमा चट्टान हटाउने काम भइरहेको हो। सडक विभागका मेसिनरी उपकरणबाट कडा चट्टान हटाउन लामो समय लाग्ने भएपछि नेपाली सेनाको विकास निर्माण कार्यदल र कालीप्रसाद गण (इन्जिनियरिङ) का दक्ष प्राविधिकको समन्वयमा ब्लास्टिङ गरिएको जनाइएको छ।
ब्लास्टिङ गरिएका तीन चट्टानमध्ये सबैभन्दा ठूलोको लम्बाइ र उचाइ करिब १५ र १४ मिटर रहेको छ। अन्य दुई चट्टानको लम्बाइ क्रमशः करिब १० र १०.५ मिटर तथा उचाइ ७ र ६.५ मिटर रहेको बताइएको छ।
चट्टान हटाएर शीतलबजार खण्डमा रहेको एकतर्फी सडकलाई थप चौडा बनाउने काम भइरहेको छ। हाल उक्त सडक खण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ। विकास निर्माणका प्राविधिक प्रमुख सेनानी विनोद भट्टका अनुसार सडक विस्तारका लागि आवश्यक स्थानमा रहेका कडा चट्टान हटाएर सडक चौडा बनाउने काम भइरहेको हो।
यसैबीच कृष्णभीरको मर्मतसम्भारसँगै शीतलबजार खण्डको सडक पनि सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ। हाल उक्त खण्डमा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
भैरव गणका प्रमुख सेनानी सुदीप शाहका अनुसार आज चट्टानमा ड्रिल गरी विस्फोटक पदार्थ राख्नका लागि प्वाल तयार गरिएको छ। भोलि पानी परे पनि ठूला चट्टानहरू ब्लास्टिङ गरी हटाइनेछ। नेपाली सेनाको समन्वयमा ब्लास्टिङ तथा चट्टान हटाउने कार्य भइरहेको शाहले बताए।