: तीन वर्षअघि घरेलु मैदानमा युएईलाई हराउँदै पहिलो पटक एसिया कपको यात्रा तय गरेको नेपालले फेरि त्यही प्रतिद्वन्द्वीलाई पराजित गर्दै दोस्रो पटक एसिया कपमा स्थान बनाएको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा युएईमाथि ४४ रनको जित निकाल्दै नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो।
नेपालको जितमा ब्याटिङतर्फ आसिफ शेखको शतकीय पारी र गुल्सन झाको आक्रमक अर्धशतक महत्वपूर्ण रह्यो। आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। गुल्सनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन जोडे। त्यसैको मद्दतमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल तयार गरेको थियो।
लक्ष्य पछ्याउने क्रममा युएईका राहुल चोपडाले शतक बनाए पनि उनको शतकीय पारी टोलीलाई जित दिलाउन पर्याप्त भएन। उनले १०५ बलमा ३ चौका र ४ छक्कासहित अविजित १०० रन बनाए। नेपालका करण केसीले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए। सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, गुल्सन झा र वसिर अहमदले समान एक विकेट लिए।
उही प्रतिद्वन्द्वी, उही परिणाम
नेपालका लागि यो जित एउटा खेलको परिणाम मात्र रहेन, तीन वर्षअघिको इतिहास दोहोरिएको क्षणसमेत बन्यो। सन् २०२३ मा नेपालले घरेलु मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो। त्यतिबेला युएईमाथिको जित नेपालका लागि एसिया कपको ढोका खोल्ने निर्णायक क्षण बनेको थियो। अहिले भने मलेसियाको मैदानमा उही युएईलाई हराउँदै नेपालले दोस्रोपटक एसिया कपको टिकट काटेको छ।
यसपटकको यात्रामा नेपालले समूह चरणमा चार खेल खेल्दा तीन जित निकाल्यो। बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको नेपाल हङकङसँग भने पराजित भएको थियो। तीन जितसहित समूह विजेता बनेको नेपालले सेमिफाइनलमा ओमानलाई ८७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
पहिलो एसिया कपको त्यो यात्रा
नेपालले एसिया कपमा सीधै स्थान बनाएको थिएन। त्यसका लागि उसले पहिलोपटक आयोजना गरिएको एसीसी मेन्स प्रिमियर कप जित्नुपर्ने थियो। घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जित्यो। वर्षाका कारण फाइनलको खेल रिजर्भ डेमा पुगेको थियो।
यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले गुल्शन झा र भीम शार्कीको अविजित साझेदारीमा पूरा गरेको थियो। गुल्शनले ६७ रन बनाए भने भीम ३६ रनमा अविजित रहेका थिए। त्यही जितसँगै नेपालको एसिया कप यात्रा सुनिश्चित भयो।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीका लागि यो केवल एउटा प्रतियोगितामा छनोट हुनु मात्र थिएन, एसियाका ठूला क्रिकेट राष्ट्रसँग एउटै मैदानमा उत्रिने ऐतिहासिक अवसर पनि थियो।
भारत र पाकिस्तानसँगको अनुभव
एसिया कपको समूह विभाजन हुँदा नेपाल समूह ‘ए’ मा पर्यो। समूहमा भारत, पाकिस्तान र नेपाल थिए। सन् २०२३ मा नेपालले पहिलोपटक एसिया कपमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट राष्ट्रसँग खेल्ने अवसर पायो। पाकिस्तानविरुद्धको खेलबाट एसिया कपको सुरुवात गरेको नेपालले त्यसपछि भारतसँग पनि प्रतिस्पर्धा ग¥यो।
नतिजा नेपालको पक्षमा आएन। दुवै खेलमा नेपाल पराजित भयो। तर ती खेल नेपाली क्रिकेटका लागि हारको नतिजाभन्दा ठूलो अनुभव बने। एसियाका ठूला टोलीसँग खेल्दा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरको दबाब, प्रतिस्पर्धा र खेलको फरक वातावरण अनुभव गर्ने अवसर पाए।
पहिलोपटक एसिया कप खेल्दा भारत र पाकिस्तानसँगको खेल नेपाली क्रिकेटका लागि नयाँ अनुभव थियो। ती खेलमा पाएको अनुभव अहिले दोस्रोपटक एसिया कपमा पुग्दा नेपालको साथमा छ।
दोस्रोपटक, कथा भने फरक !
पहिलो एसिया कप नेपालको लागि समूह चरणमा भेट भएका ठूला दुई राष्ट्रहरूसँगको हारसहित सकिएको थियो। तर त्यो सहभागिताले नेपाली क्रिकेटलाई ठूलो अन्तर्राष्ट्रिय अनुभव दिएको थियो।
पहिलो एसिया कप नेपालको लागि समूह चरणमा भेट भएका ठूला दुई राष्ट्रहरूसँगको हार सहित सकिएको थियो। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको छ। दोस्रोपटक भने नेपालको लागि यो प्लेटफर्म नयाँ हुने छैन। पहिलो एसिया कपको अनुभव र केही नयाँ चुनौती लिएर नेपालले पुनः दोस्रोपटक एसिया कप खेल्नेछ।