: परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन्।
उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे । उनले हिमताल विस्फोट र अन्य प्राकृतिक प्रकोपबाट बच्न रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
खनालले नेपाली चिया,कफी र जडीबुटीलाई चिनियाँ बजारमा सहज पहुँच दिन नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टिन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक रहेको धारणा राखे।
उनले भृकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान,विद्यार्थी,अनुसन्धानकर्ता र व्यापारीमार्फत जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरे ।