मुख्य समाचार
अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान
अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान

। एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् ।

शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने विषयमा बहस नभएको बताएका हुन् । यसबाट उत्पन्न हुन सक्ने जोखिम गम्भीर रहेकाले कम्पनी र सरकारहरूलाई त्यसको समाधानका लागि पर्याप्त समय दिनुपर्ने उनको भनाइ छ ।
अमोडेईले एआई सुरक्षाका लागि तीनबुँदे योजना अघि सारेका छन् । त्यसमा एआई मोडेल विकास भइरहेका बेला स्वतन्त्र निगरानी, उद्योगभर लागू हुने नियमन र विश्वव्यापी नियमन समावेश छन् ।

एआई प्रविधिका सम्भावित जोखिमबारे पछिल्लो समय चिन्ता बढ्दै गएको देखिन्छ । तीमध्ये सबैभन्दा गम्भीर चिन्ताका रूपमा आगामी दशकभित्र एआईका कारण मानव जाति नै समाप्त हुन सक्ने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको अनुमानसमेत सार्वजनिक भएको छ ।

एन्थ्रोपिकले नै यसअघि जैविक हतियार विकासमा सहयोग पुग्न सक्ने खालका दुरुपयोगका प्रयासहरू आफ्नो एआई मोडेलमार्फत पहिचान गरी विफल बनाएको बताएको थियो ।

एआई दौडबारे कर्मचारीको चेतावनी

एन्थ्रोपिकको सुरक्षा टोलीका दुई कर्मचारीले पछिल्लो दुई सातामा राजीनामा दिएका छन् । मानवभन्दा बढी सक्षम मेसिन विकास गर्ने दौडका कारण मानव जाति नै बाँच्न नसक्ने अवस्था आउन सक्ने उनीहरूले चेतावनी दिएका छन् ।

अमोडेईको प्रस्ताव सार्वजनिक भएपछि उनका प्रतिस्पर्धीहरूले समेत एआई मोडेलको सुरक्षा मूल्यांकन गर्न तेस्रो पक्षका स्वतन्त्र अनुगमनकर्ता आवश्यक रहेको बताएका छन् ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू अमोडेईसँग सहमत रहेको बताएका छन् ।

‘फ्रन्टियर एआई’ को विकासलाई गति मिलाएर अघि बढाउनुपर्ने भन्दै उनले स्वतन्त्र मूल्यांकनकर्ताको प्रस्तावलाई राम्रो विचार भनेका छन् ।

यसअघि ‘फर्च्युन’ पत्रिकासँगको नयाँ अन्तर्वार्तामा अल्टम्यानले पनि एआई क्षमताको विकासलाई अझ अघि बढाउन आवश्यक सुरक्षा मापदण्ड अहिले पर्याप्त अवस्थामा नरहेको बताएका थिए । मानव नियन्त्रणभन्दा बाहिर जाने एआई सम्भव रहेकोमा आफू ‘पूर्ण रूपमा’ विश्वस्त रहेको उनको भनाइ थियो ।

एन्थ्रोपिकका प्रमुखको प्रस्तावमा स्पेसएक्सका प्रमुख एलन मस्कले पनि समर्थन जनाएका छन् । उनले एक्समा ‘डारियो सही छन्’ भन्दै प्रतिक्रिया दिएका थिए ।

ओपनएआईका एआई एजेन्टमाथि प्रश्न

अमोडेईले आफ्नो लेटर ‘वी मस्ट पेस द फ्रन्टियर’ मा एआई प्रविधि निकै तीव्र गतिमा विकास भइरहेको बताएका छन् । उनका अनुसार एआईको अर्को पुस्ता आफैँ निर्माण गर्न सक्ने क्षमता पनि तीव्र रूपमा बढिरहेको छ ।

उनले गत जुलाईमा ओपनएआईसँग सम्बन्धित एउटा घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । उक्त घटनामा ओपनएआईका एआई एजेन्टहरूले आफूलाई दिइएको निर्देशनभन्दा बाहिर गएर साइबर सुरक्षा हमला गरेको अनुसन्धानबाट देखिएको थियो ।

अमोडेईले ती एआई एजेन्टहरूले ‘सामूहिक गिराेह वा समूह’ जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन् ।

ओपनएआईले भने अन्तर-एआई सञ्चार गतिविधिको महत्त्वबारे आफ्ना नेतृत्वकर्ताहरूलाई जुलाईसम्म स्पष्ट जानकारी नभएको जनाएको छ । त्यसपछि कम्पनीले केही उन्नत एआई मोडेल र उपकरणको प्रशिक्षण प्रक्रिया सुस्त बनाएको बताएको छ ।

ओपनएआईका अनुसार एआई उपकरणहरू नियन्त्रणबाहिर गएर अनियन्त्रित रूपमा फैलिन सक्ने जोखिम बढेको छ ।

विकास रोक्ने होइन, सन्तुलित बनाउने

अमोडेईले एआई विकास पूर्ण रूपमा रोक्नुपर्ने माग आफूले नगरेको स्पष्ट पारेका छन् । उनका अनुसार एआई मोडेलको प्रशिक्षण वा प्राविधिक प्रगतिलाई बन्द गर्नुको सट्टा कम्पनीहरूले आफ्नो मोडेललाई सुरक्षित र मानवअनुकूल बनाउन पर्याप्त समय दिनुपर्छ ।

त्यससँगै, स्वतन्त्र तेस्रो पक्षका मूल्यांकनकर्ताले एआई मोडेलको सुरक्षा परीक्षण गर्नुपर्ने उनको प्रस्ताव छ ।

‘विकास गर्दा एआईलाई सुरक्षित राख्ने सन्तुलित गतिमा विकास गर्नुपर्छ,’ अमोडेईले भनेका छन् ।

एन्थ्रोपिकले यस्तो अभ्यास आफूले एकतर्फी रूपमा लागू गर्ने प्रतिबद्धता जनाएको छ । साथै, अन्य अग्रणी एआई कम्पनीलाई पनि यही मापदण्ड अपनाउन सरकारले अनिवार्य गर्नुपर्ने उनले बताएका छन् ।

सरकारी नियमन एआई विकासको गतिसँग तालमेल मिलाउन नसक्ने हुन सक्ने स्वीकार गर्दै अमोडेईले नियमनसँगै एआई कम्पनीहरूले स्वेच्छिक रूपमा सहकार्य गरेर साझा सुरक्षा मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

चीनसँगको प्रतिस्पर्धा

एआई विकासको गति घटाउँदा विश्वका अन्य देश, विशेषगरी चीन, अगाडि बढ्न सक्ने चिन्ता पनि अमोडेईले सम्बोधन गरेका छन् ।

उनका अनुसार एआई मोडेलहरू ‘महत्त्वपूर्ण क्षमताको चरण’ मा पुग्नुअघि विकासलाई एक/दुई वर्ष सुस्त बनाउन सकिए र त्यो समय एआईलाई मानवअनुकूल तथा सुरक्षित बनाउन प्रयोग गरिए ठूलो जोखिम घटाउन सकिन्छ ।

तर, यस्तो काम समन्वयपूर्ण हुनुपर्ने र त्यसबाट व्यावसायिक लाभ वा अमेरिकाको एआई क्षेत्रमा रहेको अग्रता गुम्न नहुने उनले बताएका छन् ।

अमोडेईले अमेरिकी सरकारले अमेरिकी कम्पनीले उत्पादन गरेका एआई चिप चीनमा बिक्री गर्न पनि रोक्नुपर्ने बताएका छन् । साथै, अधिनायकवादी शासन भएका देशसँग एआईसम्बन्धी प्रविधि साझा गर्न नहुने उनको सुझाव छ ।

तेस्रो पक्षले नियमन गर्नुपर्ने

अमोडेईको प्रस्तावमा एआई प्लेटफर्म हगिङ फेसका प्रमुख कार्यकारी अधिकृत क्लिमेन्ट डेलाङ्गले पनि समर्थन जनाएका छन् ।

डेलाङ्गले अमोडेईले प्रस्ताव गरेका ‘एम्बेडेड इभालुएटर’ अर्थात् एआई विकास प्रक्रियामै संलग्न भएर सुरक्षा मूल्यांकन गर्ने स्वतन्त्र अनुगमनकर्ताको अवधारणामा काम गर्न ‘ओपन अलाइनमेन्ट इनिसिएटिभ’ नामक नयाँ परियोजना सुरु गर्ने बताएका छन् ।

‘एआईलाई अझ पारदर्शी बनाएर सुरक्षित बनाऔँ,’ उनले एक्समा लेखेका छन् ।

यसअघि ओपनएआईका एआई एजेन्टले हगिङ फेसको प्रणालीमा अनधिकृत गतिविधि गरेको घटनापछि एआई सुरक्षाबारे व्यापक बहस भएको थियो ।

मस्कले पनि अमोडेईको प्रस्तावलाई समर्थन गरेका छन् । यद्यपि, उनले नै यसअघि एन्थ्रोपिकलाई ‘खराब’ कम्पनी भनेका थिए । मे महिनामा एन्थ्रोपिकसँग करिब १५ अर्ब डलरको कम्प्युटिङ क्षमता बिक्रीसम्बन्धी सम्झौता भएपछि मस्कको धारणा केही नरम भएको देखिन्छ ।

आलोचकको फरक धारणा

केही विश्लेषकहरूले भने अमोडेईको प्रस्ताव एआई सुरक्षाभन्दा पनि एआई प्रविधिमाथि नियन्त्रण केन्द्रित गर्ने प्रयास भएको टिप्पणी गरेका छन् ।

प्रविधि लगानीकर्ता तथा ‘अल–इन’ पोडकास्टका सहप्रस्तोता चामथ पालिहापिटियाले अमोडेईको प्रस्तावले ओपन सोर्स एआई रोक्ने र ठूलो प्राविधिक तथा आर्थिक शक्ति एन्थ्रोपिकमा केन्द्रित गर्ने बाटो खोल्ने बताएका छन् ।

सिलिकन भ्यालीका केही आलोचकले एआई विकास सुस्त बनाउने वा केही समय रोक्ने प्रस्तावप्रति लामो समयदेखि शंका व्यक्त गर्दै आएका छन् । उनीहरूले अग्रणी एआई कम्पनीहरूले आफ्नो प्रविधिको प्रचार र बजार प्रभाव बढाउन जोखिमसम्बन्धी चेतावनीलाई अतिरञ्जित गर्ने गरेको आरोप लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...