: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ।
बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो।
विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र स्वयंसेवक परिचालन भएका थिए। गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालका अनुसार अस्पतालको पुनःस्थापनामा ६/७ दिनको अवधिमा करिब ६८८ जना स्वयंसेवक खटिएका थिए।
‘सरसफाइदेखि पुनःस्थापनासम्म विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भयो। चुजी फाउन्डेसनको सहयोग पनि महत्वपूर्ण रह्यो,’ दुलालले भने, ‘आवश्यक उपकरण एक साताभित्रै उपलब्ध भएपछि अस्पताल पुनः सञ्चालन गर्न सफल भयौं।’उनका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक अधिकांश उपकरण प्राप्त भइसकेका छन्। एक्स-रे मेसिन भने आउने क्रममा रहेको र छिट्टै अस्पतालमा आइपुग्ने उनले जानकारी दिए।
अस्पताललाई आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापन गर्न कठिन भइरहेका बेला गल्छी गाउँपालिकाको पहलमा ताइवानस्थित वृद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनले सहयोग गरेको हो। आइतबार आयोजित कार्यक्रममा फाउन्डेसनकी उपाध्यक्ष लेन पि युले अस्पताललाई स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिन्।
कार्यक्रममा उनले विपद्बाट क्षतिग्रस्त अस्पताललाई छोटो समयमै आवश्यक उपकरण व्यवस्थापन गरी पुनः सञ्चालनमा ल्याउनु उदाहरणीय भएको बताइन्। विपद्को समयमा एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले भोटेकोसीको बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको विपत्तिका रूपमा उल्लेख गरिन्।
गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले अस्पताल पुनः सञ्चालनमा सहयोग गर्ने फाउन्डेसन, सुरक्षा निकाय, संघसंस्था, स्वयंसेवक तथा स्थानीयवासीप्रति आभार व्यक्त गरे। विपद्का कारण गाउँपालिका स्वयं प्रभावित भएका बेला अस्पतालको सरसफाइदेखि आवश्यक सामग्री जुटाउनेसम्म प्राप्त सहयोगले पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
बैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मधुकर दाहालका अनुसार फाउन्डेसनले आकस्मिक उपचारमा आवश्यक पर्ने करिब २२७ प्रकारका औषधि, ५९ प्रकारका सर्जिकल सामग्री तथा विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराएको छ।
सहयोग गरिएका सामग्रीमा यूएसजी मेसिन, एनेस्थेसिया मेसिन, प्रयोगशालाका आवश्यक उपकरणलगायत अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार र फर्निचरसमेत छन्। बाढीबाट क्षतिग्रस्त अस्पतालको सरसफाइ, उपकरण व्यवस्थापन र पुनःस्थापनाको काम पूरा भएपछि बैरेनी अस्पतालबाट नियमित स्वास्थ्य सेवा पुनः सुरु भएको हो।