। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशको विवाद मिलाउन विशेष टोली बनाएर खटाएको छ ।
रास्वपाको प्रथम महाधिवेशन गत असार दोस्रो साता चितवनमा सम्पन्न भएको थियो । तर मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा बाहेकका अन्य सात वटा जिल्लामा अझैसम्म अधिवेशन हुन सकेको छैन ।
यस सन्दर्भमा रास्वपाले विशेष टोली परिचालन गरेको हो ।
यही भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीका सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेश प्रदेश संगठन अडिट समिति’ गठन गरेको थियो ।
उक्त समितिले स्थलगत रूपमै पुगेर छलफल र संवाद गरिरहेको छ । सहमहामन्त्री हरि ढकाल नेतृत्वको अडिट समितिमा नेताहरू सुरेन्द्र चौधरी, अशोककुमार चौधरी, प्रमोद न्यौपाने, जगदीश खरेल र पुनम अग्रवाल सदस्य रहेका छन ।
अडिट समितिले समितिले पर्सा जिल्लाबाट छलफल सुरु गरेको थियो । पर्साबाट बारा, रौतहट, सर्लाही, जनकपुर र महोत्तरीमा अडिट सम्पन्न गरेको छ । सोमबार सप्तरीमा छलफल छ ।
सात वटै जिल्लामा छलफल गरेर संगठन अडिट गर्दै विवाद समाधानको उपायसहित विशेष टोली काठमाडौं फर्किनेछ ।
रास्वपाका एक नेताका अनुसार, सांसद र संगठन बिचको रस्साकस्सीले मधेशमा अधिवेशन सम्पन्न गर्न नसकिएको हो । यसपछि चितवनमा सम्पन्न महाधिवेशनमा मधेशका पर्सा जिल्ला बाहेक अन्य जिल्लाहरूको पुरानै प्रतिनिधिहरूले सहभागीता जनाएका थिए ।
पर्सामा समेत समन्य विवादपछि तोकिएको दिन भन्दा एक दिन ढिलोगरी अधिवेशन भएको थियो । पर्सामा पनि निर्वाचित सांसद र संगठनबीच रस्साकस्सी भएको थियो । प्रतिस्पर्धामा भने तत्कालीन जिल्ला सभापति हरि पन्त विजयी भएका थिए ।
बाँकी जिल्लाको अधिवेशन गराउने गरी रास्वपाले विवाद समाधानका लागि काम गर्दैछ । यस निम्ति रास्वपाको केन्द्रीय समितिले नै सहमहामन्त्री ढकालको संयोजकत्वमा ‘मधेश प्रदेश संगठन अडिट समिति’ गठन गरेको हो ।
यो विशेष टोलीले हाल उक्त स्थलगत रूपमै छलफल र संवाद गरिरहेको छ । टोलीका एक सदस्यका अनुसार सप्तरीमा छलफल सकाएर बुधबार काठमाडौं फर्किने तयारी छ ।
त्यसपछि रास्वपा सभापति रवि लामिछाने मधेश प्रदेश जाने तयारी छ ।
त्यसक्रममा सभापति लामिछानेले विशेष टोलीले पहिचान गरेको समस्या र सुझाएको समाधानको उपाय समेतका आधारमा मधेशको विवाद समाधानका लागि पहल लिनेछन् ।