: मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा सोमबार साँझ सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दार सुदीप खड्काको मृत्यु भएको छ।
कोशी लोकमार्गमा भएको दुर्घटनामा वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकलमा सवार खड्का पश्चिमबाट पूर्वतर्फ सडक पार गर्ने क्रममा बसको ठक्करमा परेका थिए।
दुर्घटना साँझ करिब ५ः३० बजेतिर भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए। उनका अनुसार बूढीगंगा–४ का ३६ वर्षीय खड्काको टाउको, छाती, दुवै हातखुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो।
गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पु¥याइएको थियो। तर, उपचारका क्रममा साँझ ६ः५२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। खड्का सशस्त्र प्रहरी बल नेपाल बीओपी स्वर्णकट्टी, सप्तरीमा कार्यरत थिए।
घटनापछि प्रहरीले बस, मोटरसाइकल र बस चालकलाई नियन्त्रणमा लिएको छ। बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाल हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस तीव्र गतिमा रहेको र मोटरसाइकलले अचानक सडक पार गर्दा दुर्घटना भएको देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।