। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गर्न माग गरेका हुन् ।
अहिले रसुवामा आएको भोटेकोशी बाढी पनि दैवी प्रकोप नभएको उनले प्रष्ट पारे ।
‘हामी भोटेकोशी बाढीको पीडामा छौं । र यो विपद्को सामना गरिरहेका छौं । यो भोटेकोशी बाढी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौं,’ सांसद खरेलले भनेका छन्, ‘यो बाढीमात्रै होइन, कुनै पनि बाढी, पहिरो डुबान, कटान, भुइँचालो, आगलागी कुनै पनि दैवी प्रकोप होइनन् । कि यी मानव सिर्जित हुन्, कि यी प्राकृतिक विपद् हुन् ।’
०७४ सालमा बनेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन र ०७६ मा बनेको नियमावलीले यसको स्पष्ट पारेको पनि उनले सुनाए ।
‘२०३९ सालमा बनेको दैवी प्रकोप ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेन् । मेरो आग्रह छ, यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गरियोस् । अब दैवी प्रकोपको जमाना रहेन,’ उनले भने ।