। ठगीसम्बन्धी कसुरमा नियन्त्रणमा रहेका अभियुक्त प्रहरी कार्यालयबाटै सुटुक्क फरार भएका छन् ।
आफ्नो कार्यालयको मुद्दा प्रक्रिया टुंगो लागेपछि अर्को ठाउँको मुद्दा प्रक्रियाका लागि बुझाउनुपर्ने अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सुटुक्क फरार भएका छन् । प्रहरीकै मिलेमतोमा फरार भएको आशंका छ ।
यसरी सेटिङमा उन्मुक्ति पाउने व्यक्ति हुन् कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुली ।
जिल्ला प्रहरी कार्यालयमा ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका पराजुलीको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय महोत्तरीमा फाइल बुझाएको थियो ।
पराजुलीविरुद्ध महोत्तरीको एकडारा गाउँपालिका–४ का दरवेश राय यादवको जाहेरीमा तीन/तीन लाख रुपैयाँ बिगो दाबी गरिएका बैंकिङ कसुर र ठगी तथा विश्वासघातसम्बन्धी दुई वटा उजुरी दिएका थिए ।
यी दुवै मुद्दामा २२ भदौमा महोत्तरी जिलला अदालतले पराजुलीलाई १५–१५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश नवराज कार्कीको इजलासले धरौटीमा छाड्न आदेश दिएपछि पराजुलीले तोकिएको धरौटी बुझाए ।
तर धरौटी बुझाए पनि उनी तत्कालै छुट्न सक्ने अवस्था भने थिएन । किनकी उनीविरुद्ध अन्य ठाउँमा मुद्दा थिए । ती प्रहरी कार्यालयले पत्राचार गर्दौ अनुसन्धानका लागि पराजुलीलाई उपस्थित गराइदिन भनेका थिए ।
पराजुलीविरुद्ध काठमाडौंस्थित प्रहरी वृत्त बौद्ध र वृत्त गौशालामा दुई मुद्दा बाँकी नै थियो । अनुसन्धानका लागि गौशाला वा बौद्धको जिम्मा लगाउनुपर्ने अभियुक्त पराजुली भने महोत्तरी प्रहरी कार्यालयबाटै फरार भएका छन् ।
सुटुक्क उम्केका पराजुली अहिलेसम्म फरार नै छन् । उनीहरूबारे अहिलेसम्म केही भेउ प्रहरीले पाउन सकेको छैन ।
प्रहरीको नियन्त्रणमा रहेको र अर्को कार्यालयमा बुझाउनु पर्ने अभियुक्त प्रहरी कार्यालयबाटै कसरी उम्किए भनेर अनलाइनखबरले जिल्ला प्रहरी कार्यालयका महोत्तरीका एसपी श्याम सारु मगरलाई सोधेको थियो ।
एसपी सारु मगरले प्रहरी मिलेमतोमा नभई कमजोरीको फाइदा उठाएर उम्केको दाबी गरे ।
‘अदालतको धरौटीमा छाड्न आदेश दिएपछि कार्यालय ल्याएर प्रक्रिया पुर्याउने काम हुँदै थियो । त्यतिबेला एकै पटक पाँच/छ जना थुनुवा अदालतबाट ल्याइएको थियो । प्रक्रिया पूरा गरेर काठमाडौं पठाउने तयारी भइरहेका बेला भागेको देखिन्छ’ एसपी सारु मगरले अनलाइनखबरसँग दाबी गरे ।
पराजुली भागेको विषयमा आन्तरिक छानबिन भइरहेको दाबी पनि उनको छ ।
‘ड्युटीमा रहेका मान्छेको कमजोरीको फाइदा उठाएर भागेका हुन् । यस विषयमा छानबिन भइरहेको छ । हामीले उहाँ पराजुलीको खोजी पनि गरिरहेका छौं’ एसपी सारु मगरको दाबी छ ।
घटनाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर विश्वम्भर नाथ साहको दाबी पनि एसपीकै जस्तो मिल्दोजुल्दो छ ।
‘यो घटनाको अनुसन्धान अधिकृत म आफैं हुँ । उहाँलाई भगाएको होइन । कमजोरीको फाइदा उठाएर भागेका हुन् । खोजी हुँदैछ’ इन्स्पेक्टर साहले दाबी गरे ।
मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट योजना दिलाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा पराजुलीविरुद्ध जाहेरी परेपछि उनलाई सिरहा प्रहरीले गत साउन २७ गते पक्राउ गरेको थियो ।
सिरहाका योगेन्द्रकुमार यादवले ७ लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी दिएका थिए । पक्राउ परेपछि साउन २९ गते पराजुलीले पीडितसँग लेनदेन मिलाई मिलापत्र गरेका थिए ।
त्यसपछि सिरहा प्रहरीले उनलाई रिहा नगरी महोत्तरी प्रहरीमा दर्ता भएका ठगी तथा बैंकिङ कसुरसम्बन्धी दुईवटा मुद्दामा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको थियो ।
मधेश प्रदेशका विभिन्न मन्त्रालयबाट योजना पारिदिने भन्दै पराजुलीले रकम लिएको जाहेरीमा उल्लेख छ । यादवको जाहेरीमा गत ११ वैशाख र १ जेठमा ठगी र बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
पराजुलीविरुद्ध काठमाडौंलगायत विभिन्न स्थानमा पनि यस्तै प्रकृतिका मुद्दा दर्ता रहेको पाइएको छ । जाहेरीकर्ताहरू तारादेवी बस्नेतको जाहेरीमा २०७४ भदौ १५ गते बैंकिङ कसुर, होमबहादुर थापाको जाहेरीमा २०७६ वैशाख ११ गते ठगी तथा महेश बस्नेतको जाहेरीमा २०७६ जेठ १९ गते बैंकिङ कसुरको मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ ।
यस्तै, २०८२ असार १२ गते रोशनकुमार गुरुङको जाहेरीमा बैंकिङ कसुर, साउन १८ गते कुमार गुरुङको जाहेरीमा ठगी, २०८३ वैशाख ४ गते धिरेन्द्रकुमार यादवको जाहेरीमा बैंकिङ कसुर छन् ।
तीमध्ये कतिपय मुद्दा फर्स्यौट भइसकेका छन् भने कतिपयमा अनुसन्धान तथा कारबाही बाँकी छन् ।