साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट–वेस्ट पाइपलाइन बन्द भएको छ । यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ ।
यही कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । खाडी क्षेत्रमा जलयातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्योल सिर्जना भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.३७ डलर अर्थात् १.३ प्रतिशतले बढेको छ । यसको मूल्य प्रतिब्यारेल १०७.०५ डलर पुगेको छ ।
अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि १.५३ डलर अर्थात् १.५१ प्रतिशतले बढेको छ । यसको मूल्य प्रतिप्याकेट १०२.९२ डलर पुगेको छ । अघिल्लो कारोबारमा पनि दुवैको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको थियो।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार साउदी अरेबियामा नयाँ आक्रमण गरेका छन् । खाडीका अरब राष्ट्रहरूले इरानसँगको वार्ता स्थगित गरेका छन् । यसले मध्यपूर्वको द्वन्द्व अझ फैलिन सक्ने चिन्ता बढाएको छ ।
यसबाट विश्वभरको तेल आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
हुथी समूहले दक्षिणी साउदी अरेबियाको खमिस मुसाइत सैन्य एयरबेसमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । उनीहरूले विमान ह्याङ्गर, राडार प्रणाली, रनवे र हतियार भण्डारलाई निशाना बनाएका छन् । साउदी अरेबियाले यमनमा गरेको हमलाको बदला लिन यो आक्रमण गरिएको हो ।
यसअघि गत शुक्रबार पनि साउदी अरेबियामा आक्रमण भएको थियो ।