: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित सडकमा मंगलबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका-७ का ३० वर्षीय दिलीप चौधरी र पर्साको वीरगन्ज महानगरपालिका-१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय रहेका छन् ।
पथलैया-वीरगन्ज सडकखण्डअन्तर्गत भलुहीको सागर आयल पेट्रोल पम्पनजिक पूर्वतर्फको सर्भिस लेनबाट मुख्य सडकमा निस्कदै गरेको ना३ख ५६१० नम्बरको ग्यास बोकेको ट्रकले वीरगन्जतर्फ जाँदै गरेको ना४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट चौधरी र उपाध्याय गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल कसले चलाएको भन्ने खुल्न सकेको छैन । मृतकको शव नारायणी अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
प्रहरीले ट्रक र चालक चितवन भरतपुरका ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ ।