मुख्य समाचार
ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुपको लगानी रहेको बेनी खोला सेयर बजारमा सूचीकृत हुँदै
ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुपको लगानी रहेको बेनी खोला सेयर बजारमा सूचीकृत हुँदै

: ब्रिटिश सेना र सिंगापुर प्रहरीमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको लगानी कम्पनी ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको बेनी खोला जलविद्युत् आयोजना सेयर बजारमा सूचीकृत हुने भएको छ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको बिगले सुरुवाती चरणदेखि नै बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडमा लगानी गरेको थियो । विदेशमा कार्यरत नेपालीले आफ्नो आम्दानीको हिस्सा स्वदेशमै लगानी गरी नेपालको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको कम्पनीले पछिल्लो समय आफ्नो लगानीको दायरा विस्तार गर्दै लगेको छ।

सन् २०१३ मा कप्तान पृथ्वीराज राईको नेतृत्वमा स्थापना भएको बिगमा अहिले १६७ भन्दा बढी शेयरधनी छन्। कम्पनीका अधिकांश शेयरधनी अझै पनि विदेशमा कार्यरत छन्। विदेशमा रहेर कमाएको आम्दानीलाई सामूहिक रूपमा परिचालन गर्दै नेपालमै लगानी गर्ने अवधारणाबाट सुरु भएको कम्पनीले जलविद्युत् क्षेत्रलाई आफ्नो प्रारम्भिक लगानीको महत्वपूर्ण क्षेत्र बनाएको हो।




बिगले प्रारम्भिक चरणमा लगानी गरेको सोलुखुम्बुको १९ दशमलव ८ मेगावाट क्षमताको जलप्रवाहमा आधारित बेनी खोला जलविद्युत् आयोजनाले हालै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सफलतापूर्वक सम्पन्न गरेको छ। आयोजनाको सेयरमा सर्वसाधारणको आकर्षण उच्च देखिएको थियो। बेनी खोला जलविद्युत् आयोजनाको सेयरका लागि माग गरिएको सेयरको तुलनामा ३० दशमलव ५५ गुणा बढी आवेदन परेको थियो। कुल २३ लाख ६१ हजार १२४ जना आवेदकले सेयरका लागि आवेदन दिएका थिए । तीमध्ये ८६ हजार ३२० जना आवेदकले सेयर प्राप्त गरेका छन्।

प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) पछि अब बेनी खोला जलविद्युत् आयोजना सेयर बजारमा सूचीकृत हुने तयारीमा छ। आयोजनाको सेयर बजारमा सूचीकृत भएसँगै हजारौं नेपाली सर्वसाधारणले जलविद्युत् आयोजनामा प्रत्यक्ष स्वामित्व प्राप्त गर्ने भएका छन्। १९ दशमलव ८ मेगावाट क्षमताको उक्त आयोजना सञ्चालनको प्रारम्भिक चरणमा लगातार दुई आर्थिक वर्ष नोक्सानीमा गएको थियो। तर पछिल्लो आर्थिक वर्षमा भने आयोजनाले आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

बिगका प्रमुख कार्यकारी अधिकृत चेवन राईले बेनी खोला जलविद्युत् आयोजनालाई अहिलेको अवस्थामा ल्याउन कम्पनीले निर्वाह गरेको भूमिकाप्रति गर्व लागेको बताएका छन् । उनका अनुसार बेनी खोला जलविद्युत् आयोजनाको सेयर निष्कासन बिगमा लगानी गर्ने शेयरधनीका लागि मात्र नभई देशभरका हजारौं नेपालीका लागि पनि महत्वपूर्ण उपलब्धि हो। ऊर्जा उत्पादन गर्ने आयोजनामा सर्वसाधारण नेपालीलाई प्रत्यक्ष शेयरधनी बन्ने अवसर प्राप्त हुनु सकारात्मक पक्ष भएको उनको भनाइ छ।

‘बेनी खोलालाई यो चरणसम्म ल्याउन सानो भूमिका निर्वाह गर्न पाउँदा हामी गर्व गर्छौं। यो सेयर निष्कासन हाम्रा आफ्नै लगानीकर्ताका लागि मात्र होइन, हजारौं नेपालीका लागि पनि खुसीको खबर हो,’ राईले भने, ‘देशलाई ऊर्जा दिइरहेको आयोजनामा सर्वसाधारण नेपालीलाई समेत शेयरधनी बन्ने अवसर मिलेको छ। यस्तै थप उपलब्धि हासिल गर्ने वातावरण निर्माण गर्नु हाम्रो लक्ष्य हो।’
बिगको लगानी भने बेनी खोला जलविद्युत् आयोजनामा मात्र सीमित छैन । कम्पनीले सिन्धुपाल्चोकमा रहेको ३ दशमलव २ मेगावाट क्षमताको गेलुन खोला जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ।

निर्माणका क्रममा लामो समयसम्म विभिन्न समस्या तथा आर्थिक अवरोध व्यहोरेको गेलुन खोला जलविद्युत् आयोजना अहिले पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको छ। आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री भइरहेको छ। बिगले सिन्धुपाल्चोकमै रहेको ६४ मेगावाट क्षमताको माथिल्लो न्यासेम तथा न्यासेम ‘ए’ जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ। उक्त आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ। माथिल्लो न्यासेम तथा न्यासेम ‘ए’ जलविद्युत् आयोजना अहिले वित्तीय व्यवस्थापनको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। आयोजनामा हालै नयाँ लगानीकर्तासमेत थपिएका छन्। यसले आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउने प्रक्रियालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

बिगले जलविद्युत् क्षेत्रमा मात्रै आफ्नो लगानी सीमित नराख्ने जनाएको छ। कम्पनीले आगामी दिनमा आतिथ्य, शिक्षा तथा पर्यटन लगायतका क्षेत्रमा समेत लगानी विस्तार गर्ने तयारी गरेको छ । विभिन्न क्षेत्रमा लगानी गरी जोखिमलाई विविधीकरण गर्ने र शेयरधनीका लागि दीर्घकालीन रूपमा बलियो लगानी पोर्टफोलियो निर्माण गर्ने कम्पनीको योजना छ। बिगको नेतृत्व अहिले प्रमुख कार्यकारी अधिकृत चेवन राईले गरिरहेका छन् । राईले सन् २०२६ अप्रिलदेखि कम्पनीको नेतृत्व सम्हालेका हुन्। व्यवसाय तथा कानुनको क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव रहेका राईले यसअघि विश्व बैंक, एसियाली विकास बैंक तथा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायमा परामर्शदाताका रूपमा काम गरिसकेका छन्।


राईले विभिन्न समयमा प्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्च राजनीतिक नेतृत्वसँग नजिक रहेर काम गरेको अनुभव समेत हासिल गरेका छन्। व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा गरेको योगदानका लागि उनले सन् २०२४ मा युवा उद्यमी पुरस्कार समेत प्राप्त गरेका थिए।
कम्पनीले आगामी तीन वर्षभित्र आफूलाई नेपालको प्रमुख लगानी कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। त्यसैगरी आगामी पाँच वर्षभित्र आफ्नै प्राथमिक सार्वजनिक निष्कासन ल्याएर सेयर बजारमा प्रवेश गर्ने योजना समेत बिगले अघि सारेको छ। कम्पनीको नेतृत्वका अनुसार बेनी खोला जलविद्युत् आयोजनाको सफल यात्रा बिगका लागि एउटा महत्वपूर्ण सुरुवात हो। सामूहिक रूपमा गरिएको सानो–सानो लगानीलाई दीर्घकालीन रूपमा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके त्यसले व्यक्तिगत लगानीकर्तासँगै देशको अर्थतन्त्रमा समेत योगदान पु¥याउन सक्ने कम्पनीको विश्वास छ।

विशेषगरी विदेशमा कार्यरत नेपालीको सामूहिक बचतलाई स्वदेशको उत्पादनशील क्षेत्रमा परिचालन गर्ने बिगको अवधारणा पछिल्लो समय थप महत्वपूर्ण बन्दै गएको छ। विदेशमा रहेका नेपालीले पठाउने रकम उपभोगमा मात्र नभई जलविद्युत्, पर्यटन, शिक्षा तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुग्ने कम्पनीको धारणा छ। बेनी खोला जलविद्युत् आयोजनामा गरिएको लगानी र त्यसको सफल प्राथमिक सार्वजनिक निष्कासनले विदेशमा कार्यरत नेपालीको सामूहिक लगानीबाट पनि ठूला पूर्वाधार आयोजनामा स्वामित्व कायम गर्न सकिने उदाहरण प्रस्तुत गरेको बिगको भनाइ छ।

अब कम्पनीले बेनी खोला, गेलुन खोला तथा माथिल्लो न्यासेमजस्ता जलविद्युत् आयोजनामा रहेको लगानीलाई थप व्यवस्थित गर्दै अन्य क्षेत्रमा समेत लगानी विस्तार गर्ने तयारी गरेको छ। तीन वर्षभित्र प्रमुख लगानी कम्पनी बन्ने र पाँच वर्षभित्र आफ्नै सेयर सार्वजनिक गर्ने लक्ष्य पूरा गर्न कम्पनीले लगानीको आकार र क्षेत्र दुवै विस्तार गर्ने योजना अघि सारेको छ। यसरी ब्रिटिश सेना र सिंगापुर प्रहरीमा कार्यरत नेपालीबाट सुरु भएको सामूहिक बचतको अवधारणा अहिले जलविद्युत् आयोजनाको स्वामित्व हुँदै नेपालको सेयर बजारसम्म आइपुगेको छ। बेनी खोला जलविद्युत् आयोजनाको सेयर बजारमा प्रवेशले विदेशमा रहेका नेपालीको सामूहिक लगानी र स्वदेशी पूर्वाधार विकासबीचको सम्बन्धलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा-मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा गत भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताएका थिए। प्रधानमन्त्री शाहको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको ...
: अलाैबाट सशस्त्र प्रहरीले ठूलाे परिमाणबाट लागूऔषध चरेस सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। अलौस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्मबाट मंगलबार खटिएको मोबाईल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेकाे भारतीय नम्बर प्लेटको मोटरसाइकललाई राेकेर चेकजाँच गरेकाे थियाे।त्यसक्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई राखेको अवस्थामा २१ वटा पाेकमा रहेकाे ९ ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालिका माध्यमिक विद्यालय कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो। सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको उनीमाथि आरोप छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २ लाख विगो ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन विधान र निर्धारित कार्यतालिकाअनुसार नै हुने भन्दै नेता-कार्यकर्तालाई कुनै पनि अलमल र द्विविधामा नपर्न आग्रह गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनमा सहभागी नहुन आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि सभापति थापाले पनि सार्वजनिक अपिलमार्फत नेता-कार्यकर्तालाई महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका हुन्। थापाले ...
: भारतबाट नेपाल आयल निगमका लागि ल्याइएको डिजेल भैरहवामा चोरी गरिररहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर नियन्त्रणमा लिएको हो। नेपाल आयल निगमका ट्याङ्करबाट सिल तोडेर डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम