: अलाैबाट सशस्त्र प्रहरीले ठूलाे परिमाणबाट लागूऔषध चरेस सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। अलौस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्मबाट मंगलबार खटिएको मोबाईल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेकाे भारतीय नम्बर प्लेटको मोटरसाइकललाई राेकेर चेकजाँच गरेकाे थियाे।त्यसक्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई राखेको अवस्थामा २१ वटा पाेकमा रहेकाे ९ किलाे ५०० ग्राम चरेस बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
चरेस बरामद भएपछि उक्त माेटरसाइकलका चालक भारत घर बताउने युवक, मोबाइल १ थान तथा लागूऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक माेहनराज निराैलाले बताए।तर चरेससहित पक्राउ परेका ती भारतीय युवककाे नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन।
चरेससहित नियन्त्रणमा लिइएका ती युवकलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि मंगलबार नै वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको निराैलाले जानकारी दिए।