: महोत्तरीमा नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन्। बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। एक सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टिमले उनलाई पक्राउ गरेको हो।
जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो। सोही आधारमा मंगलबार दिउँसो ४ बजेको समयमा नापी कार्यालय बर्दिबासको अगाडि रहेको खाजा घरमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताए।
उनका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायतका कानुनी प्रक्रियाको काम भइरहेको छ।