: नेपाल टेलिकमको पोलबाट तार चोरी गरेको आरोपमा डिस होममा काम गर्ने तीन कर्मचारी पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नं. १ न्यौपाने गाउँबाट उनीहरूले तार चोरेको आरोप छ।
पक्राउ पर्नेमा भोजपुर टेम्केमैयुङ स्थायी घर भएका कुमार भुजेल, काभ्रेपलान्चोक चौरीदेउरालीका रविन्द्र बिक र सिन्धुपाल्चोक मेलम्चीका सागर तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
परिसरका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले दिएको जानकारी अनुसार उनीहरूलाई टेलिकमको २१ मिटर तामाको तार काटेर बा.प्र.०१-०२९ च ०५७३ नं. को आफ्नो गाडीमा राखेको र १२० मिटर तार काटी क्षति पुर्याएको वस्थामा पक्राउ गरिएको हो।
प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएका उनीहरूलाई चोरी मुद्दा कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले बुधबार पाँच दिन म्याद थप गरिदिएको उनले बताए। उनले सार्वजनिक सम्पत्तिको संरक्षणमा प्रहरी प्रतिबद्ध रहेकोले मुद्दा अघि बढाइएको बताए।