संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ ।
चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव पार्छ ।
होक्काइडो युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले जापानिका चामलमा अध्ययन गरेका छन् । जापानिका चामल पकाएपछि नरम र अलि टाँसिने हुन्छ । यो चामल विश्वभर १५ प्रतिशत प्रयोग हुन्छ ।
टोलीले जापानभरका ५६ प्रकारका जापानिका चामलको परीक्षण गुरेको थियो । उनीहरूले खैरो, रातो, हरियो र कालो चामलको अध्ययन गरेका थिए । यो अनुसन्धान फुड रिसर्च इन्टरनेसनलमा प्रकाशित भएको छ ।
‘चामलमा फ्याटको मात्रा कम भए पनि यसले पोषणयुक्त मान निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ,’ प्रमुख लेखक एसोसिएट प्रोफेसर सिद्धबसावे गौडाले भने, ‘यसले सेल मेम्ब्रेनको क्षमता कायम राख्न, ऊर्जा भण्डारण गर्न र शरीरमा आवश्यक सिग्नल पठाउन मद्दत गर्छ ।’
अनुसन्धानकर्ताहरूले लिक्विड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री प्रविधि प्रयोग गरे । उनीहरूले जापानिका चामलमा १९६ प्रकारका विभिन्न लिपिड अणुहरू पहिचान गरे । ती लिपिड अणुहरू पाँच मुख्य समूहमा बाँडिएका छन् ।
कालो र हरियो चामलमा स्वास्थ्य प्रवर्द्धन गर्ने लिपिडको मात्रा बढी पाइयो । यी चामलहरूमा एफएएचएमएफए र एलएनएपीई नामका उपयोगी फ्याटहरू थिए ।
यी लिपिडहरूले सुन्निने समस्या घटाउन र मेटाबोलिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छन् । चामलमा एफएएचएमएफए पहिलो पटक फेला पारिएको हो ।
अनुसन्धानकर्ताहरूले प्रयोगशालामा मानव पाचन प्रणालीको वातावरण बनाएर परीक्षण गरे। उनीहरूले पकाएको चामलमा एन्जाइम हालेर स्टार्च पच्ने गति मापन गरे। यसले खाना खाएपछि ब्लड सुगर कति छिटो बढ्छ भन्ने देखाउँछ ।
कालो र हरियो चामलले सेतो चामलको तुलनामा ब्लड सुगर ढिलो बढाएको पाइयो । यी चामलको स्टार्च बिस्तारै पच्ने भएकाले ग्लुकोज रगतमा विस्तारै प्रवेश गर्छ । यसले मुटुको स्वास्थ्य सुधार गर्न र टाइप २ डाइबिटीजको जोखिम घटाउन मद्दत गर्छ ।
यो अनुसन्धान टोलीले नयाँ बायोएक्टिभ लिपिडहरूको खोजी गरिरहेको छ ।
‘हाम्रो अनुसन्धान टोलीले जापानी माछा, हर्बल चिया र समुद्री झारमा नयाँ बायोएक्टिभ लिपिडहरू पत्ता लगाएको छ,’ गौडाले थपे, ‘यसले जापानका लिपिडयुक्त खाद्य स्रोतहरूलाई प्रकाशमा ल्याउन मद्दत गरेको छ ।’
यो नतिजाले उपभोक्ताहरूलाई सही चामल छान्न मद्दत गर्नेछ ।
‘मानिसहरू विभिन्न रङ्गका चामलका स्वास्थ्य फाइदाबारे जान्न र आफ्नो आवश्यकता अनुसार चामल छान्न उत्सुक हुन सक्छन्,’ गौडाले भने, ‘हाम्रो निष्कर्षले डाइबिटीज र अन्य रोगहरू व्यवस्थापन गर्न नयाँ फङ्सनल चामलका उत्पादनहरू विकास गर्न सहयोग पुर्याउनेछ भन्ने हामीलाई आशा छ ।’