। नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले ‘बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ?’ भन्दै प्रश्न समेत गरिन् ।
ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महँगिदा समेत सरकार जवाफदेही हुन नसकेको आरोप पनि उनले लगाइन् । उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतमा नैतिकताको कुरा गर्ने सरकारले अहिले जनताको आधारभूत आवश्यकतासमेत सम्बोधन गर्न नसकेको आरोप पनि लगाइन् ।
‘सरकारलाई ध्यान छ कि छैन, जनता भोकमरीमा पर्न थाले । हिटलरले ग्यास चेम्बरमा मान्छे हालेर मारेको थियो । के बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? निरंकुशता शैली हो ? मान्छेहरू ग्यास नपाएर भोकै छन्, किन ग्यास छैन, किन महंगी भयो भन्ने कुरामा सरकार किन जवाफदेही हुँदैन,’ उनले भनिन्, ‘यो कुरा सरकारले कहिले सुन्छ ? जेनजीको रगतमा टेकेर सिंहदरबारमा खरानीमा घुँडा टेकेको हो सरकारले ? हिजोको दिनमा नैतिकता कुरा गर्नुहुन्थ्यो यही हो नैतिकता ? यो विषयमा सरकारलाई स्पष्ट जवाफ दिनको लागि निर्देश गरिदिनको लागि माग गर्दछु ।’