। अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अहिले पनि आधिकारिक मान्ने दाबी गरेको छ ।
एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव किरण राईले आफूहरू फिफाबाट निलम्बित भएको तर बर्खास्त नभएको बताएका हुन् ।
‘फिफाले पंकजविक्रम नेम्बाङको कमिटीलाई आधिकारिक मान्छ । त्यस हिसाबले हामी निलम्बित हो, बर्खास्त होइन । कुराकानी हुन्छ’ उनले भने ।
निलम्बनसँगै सरकारको निर्देशनका कारण खेलाडी र कर्मचारीको तलबसमेत रोकिएको महासचिव राईले उल्लेख गरे । समस्याको विषयमा सरकारले स्पष्ट निर्देशन दिनुपर्ने राईको भनाइ छ ।
‘कि त सरकारले हामीलाई स्पष्ट निर्देशन दिएर नचला भन्नुपर्यो । बच्चाहरूलाई परिवारको जिम्मा लगाउने हो कि सरकार आएर जिम्मा लिने हो एउटा टुंगोमा पुग्नुपर्ने हुन्छ’ उनले भने, ‘कर्मचारी साथीहरूलाई पनि स्पष्ट भनिदिनुपर्ने होला । होइन भने देखिएका समस्याहरूलाई समाधान गरेर जानुपर्छ भन्ने लाग्छ ।’
बुधबार भएको सरकार र अध्यक्ष नेम्बाङसँगको वार्ता सकारात्मक नभएको महासचिव राईले बताए । ‘सरकारसँग कुरा भयो भने फिफासहित तीन पक्षीय मिटिङको प्रस्ताव गर्न सकिन्छ,’ उनले भने ।