। अस्ट्रेलियाले विदेशी विद्यार्थी तथा अस्थायी आप्रवासीका लागि भिसा नियम थप कडा बनाउने भएको छ । नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा अध्ययन गर्न जाने अधिकांश विदेशी विद्यार्थीले आफ्नो पति–पत्नी, पार्टनर तथा सन्तानलाई आफूसँगै लैजान नपाउने भएका छन् ।
अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार (१७ सेप्टेम्बर)मा आप्रवासनसम्बन्धी सुधार सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । नयाँ व्यवस्थाले अस्ट्रेलियामा अस्थायी रूपमा बस्ने व्यक्तिले एउटा भिसाबाट अर्को भिसामा जाने प्रक्रियालाई समेत कडा बनाउने रोयटर्सले जनाएको छ ।
२०२८ सम्म वार्षिक आप्रवासन २ लाख २५ हजारमा झार्ने लक्ष्य
सरकारले सन् २०२८ सम्म अस्ट्रेलियाको वार्षिक शुद्ध आप्रवासनलाई करिब २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ । रोयटर्सका अनुसार अहिले यो संख्या करिब ३ लाख छ ।
कोभिड–१९ महामारीपछि अस्ट्रेलियाले सन् २०२२ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय सीमा पुन: खोलेपछि विदेशी विद्यार्थी, ब्याकप्याकर र अस्थायी दक्ष कामदारको आगमन तीव्र रूपमा बढेको थियो ।
यद्यपि पछिल्ला दुई वर्षमा आप्रवासनको संख्या घटिरहेको छ । सन् २०२५ जुन ३० सम्मको एक वर्षमा अस्ट्रेलियाको शुद्ध विदेशी आप्रवासन ३ लाख ६ हजार थियो । यो सन् २०२३ मा पुगेको ५ लाख १८ हजारको उच्च बिन्दुभन्दा उल्लेख्य कम हो ।
विद्यार्थीका परिवारलाई पनि रोक
नयाँ व्यवस्थाअनुसार अधिकांश विद्यार्थी भिसामा अब विदेशी विद्यार्थीका पति–पत्नी, पार्टनर र सन्तानलाई ‘सेकेन्डरी आवेदक’का रूपमा अस्ट्रेलिया लैजान नपाइने भएको छ ।
हाल भने अन्तर्राष्ट्रिय विद्यार्थीका पति–पत्नी वा पार्टनरले अस्ट्रेलियामा आएर काम गर्न पाउने व्यवस्था छ । उनीहरूले काम गर्न पाउने घण्टा भने विद्यार्थीले अध्ययन गरिरहेको पाठ्यक्रमका आधारमा फरक हुन्छ ।
विद्यार्थीले १८ वर्षभन्दा कम उमेरका आफ्ना सन्तानलाई समेत अस्ट्रेलिया लैजान पाउने व्यवस्था अहिले छ । नयाँ नियमले यसमा ठूलो परिवर्तन गर्नेछ ।
तर प्रशान्त क्षेत्रका केही देश तथा दक्षिणपूर्वी एसियाका केही विद्यार्थीलाई भने अपवादका रूपमा परिवार ल्याउन अनुमति दिइनेछ । विद्यावारिधी (पीएचडी) गर्न आउने विद्यार्थीलाई नयाँ नियम लागु हुनेछैन । यसैगरी अस्ट्रेलियामै रहेका (अनसोर) विद्यार्थी र उनीहरूका पार्टनरलाई पनि छुट हुने बताइएको छ ।
पर्यटक भिसामा कडाइ, वर्किङ होलिडे भिसामा पनि बदलाव
नयाँ व्यवस्थाले पर्यटक भिसामा अस्ट्रेलिया पुगेपछि अर्को भिसा लिएर त्यहीँ बसिरहने अभ्यासलाई पनि नियन्त्रण गर्ने सरकारको विश्वास छ ।
अब सबै भिजिटर भिसामा ‘नो फर्दर स्टे’ व्यवस्था लागू गरिनेछ । यसले पर्यटक भिसामा अस्ट्रेलिया पुगेका व्यक्तिलाई पार्टनर भिसालगायत अर्को श्रेणीको भिसाका लागि आवेदन दिएर अस्ट्रेलियामै बसिरहन रोक लगाउनेछ ।
त्यस्तै, अस्ट्रेलियामा भिसाको अवधि सकिएपछि पनि अवैध रूपमा बस्ने व्यक्तिमाथि निगरानी र कारबाही बढाइनेछ । सरकारले भिसा अनुपालन हेर्न थप १०० जना अधिकारी नियुक्त गर्ने योजना बनाएको छ ।
अस्ट्रेलियाले ब्याकप्याकरका लागि दिइने वर्किङ होलिडे भिसामा पनि नयाँ व्यवस्था ल्याउने भएको छ ।
वर्किङ होलिडे भिसा थप गर्न चाहने आवेदकका लागि अब ‘बलट’ प्रणाली लागू गरिनेछ । अर्थात् निश्चित संख्याभन्दा बढी आवेदन परेमा छनोट प्रक्रियामार्फत भिसा विस्तारको अवसर दिइनेछ ।
अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो विद्यार्थी भिसा नवीकरण गर्न पनि अध्ययनको तह माथि लैजानुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
विद्यार्थी भिसा शुल्क तीन सय प्रतिशतसम्म बढ्यो
अस्ट्रेलियाले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया पनि कडा बनाउँदै आएको छ ।
पछिल्लो चार वर्षमा विद्यार्थी भिसाको आवेदन शुल्क करिब ३०० प्रतिशतले बढेर २ हजार ५०० अस्ट्रेलियन डलर पुगेको रोयटर्सले जनाएको छ । त्यस्तै, अंग्रेजी भाषाको योग्यता र स्नातकपछिको भिसाका लागि आवश्यक न्यूनतम बचत रकमसम्बन्धी मापदण्ड पनि कडा पारिएको छ ।
अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले भने नयाँ व्यवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । युनिभर्सिटिज अस्ट्रेलियाका प्रमुख कार्यकारी लुक शेहीले एबीसी च्यानलसँग कुरा गर्दै नयाँ नीतिले अन्तर्राष्ट्रिय शिक्षा अस्ट्रेलियाका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको विश्वासमा असर पर्न सक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय शिक्षा अस्ट्रेलियाको ठूलो आम्दानीको स्रोत
अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय विद्यार्थीको योगदान ठूलो छ । सन् २०२५ जुनसम्मको एक वर्षमा अन्तर्राष्ट्रिय शिक्षाबाट अस्ट्रेलियाले ५३.६ अर्ब अस्ट्रेलियन डलर आम्दानी गरेको थियो । यो देशको चौथो ठूलो निर्यात क्षेत्र बनेको छ ।
तर पछिल्ला वर्षमा आप्रवासन घटाउने सरकारी प्रयासको केन्द्रमा विदेशी विद्यार्थी पनि पर्दै आएका छन् ।
गृह मामिला मन्त्री बर्कले नयाँ परिवर्तन कुनै राजनीतिक दलको दबाबका कारण नभएको बताएका छन् । उनको भनाइमा अस्थायी रूपमा अस्ट्रेलिया आउन चाहनेले अस्थायी भिसा र स्थायी रूपमा बस्न चाहनेले स्थायी भिसाका लागि आवेदन दिनुपर्नेछ । भिसाको अवधि सकिएपछि कानुनी हैसियत नरहेमा अस्ट्रेलिया छाड्नुपर्ने उनको भनाइ छ ।
अस्ट्रेलियामा आप्रवासन बढ्दा आवास, जीवनयापनको लागत र सार्वजनिक सेवामाथि दबाब परेको भन्दै आलोचना हुँदै आएको छ । सरकारले भने नयाँ सुधारमार्फत आप्रवासनलाई कोभिड महामारीअघि रहेको स्तरतर्फ लैजाने लक्ष्य राखेको छ ।