मुख्य समाचार
वैज्ञानिकहरूको निष्कर्षः जलवायु परिवर्तनकै कारण भोटेकोशी बाढी
वैज्ञानिकहरूको निष्कर्षः जलवायु परिवर्तनकै कारण भोटेकोशी बाढी

: वैज्ञानिकहरूले भोटेकोशी घटनामा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको खुलासा गरेका छन्। वल्र्ड वेदर एट्रिब्युसनका अनुसार विश्वभरिका वैज्ञानिकहरूसँगको परामर्शपछि उनीहरूको निष्कर्ष सार्वजनिक भएको हो। वल्र्ड वेदर एट्रिब्युसनले यस्ता घटनाहरूको पछाडि जलवायु परिवर्तनको भूमिकाबारे दशकौंदेखि वैज्ञानिक प्रमाणहरू खोज्दै आएको छ।

वैज्ञानिकहरूले भोटेकोशीमा बाढीअघि २ लाख वर्गमिटर हिमनदी भत्किएको र त्यसबाट ११ करोड घनमिटर हिउँ र बरफको ढिक्कासहितको पहिरो गएको बताएका छन्। उक्त क्षेत्रमा पहिरो खस्नुभन्दा पहिला असामान्य रूपमा तापमान बढेको उनीहरूको निष्कर्ष छ। बाढीको पछाडि जलवायु परिवर्तनको मुख्य योगदान रहेको भन्न सक्ने आधार तय भएको उनीहरूको भनाइ छ। अनुसन्धानमा संलग्न इम्पेरियल कलेज लन्डनका जलवायु विज्ञानकी प्राध्यापक फ्रेडरिक ओटोले हिमपहिरो, भारी वर्षा र उच्च तापक्रमलगायत दर्जनौं विषयहरू अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको बताएकी छन्।

उट्रेच नेदरल्यान्ड विश्वविद्यालयका प्राध्यापक तथा माउन्टेन हाइड्रोलोजिस्ट वाल्टर इमर्जलले भोटेकोशीमा बाढी आउनुको कारण एउटा मात्रै नभएको दाबी गरेका छन्। इमर्जलका अनुसार उक्त क्षेत्रमा सन् २०१५ को भूकम्पको प्रभाव, पर्माफ्रस्टमा ह्रास (२ वर्षभन्दा बढी समय जमेर बसेको जमिन, नेपालको हकमा ५२०० मिटरमाथि), हिमनदी पातलिने समस्या तथा तापक्रममा आएको फेरबदल जस्ता कारणले बाढी आएको हो।


प्रभावित क्षेत्रमा चट्टान खस्ने प्रक्रिया करिब ५ हजार १५० मिटर उचाइमा भएको छ। कतिपय प्रक्रियाहरू वर्षौंदेखि सक्रिय रहेको हुनसक्ने उनले बताए। त्यसैगरी सन् २०१५ मा गोरखा भूकम्पले पहिरो जान सक्ने अवस्थामा पुर्‍याएको अनुमान उनको छ। भूकम्पले चट्टानको संरचनालाई कमजोर बनाएकाले पनि पहिरो जान प्रेरित गरेको हुनसक्छ। पर्माफ्रस्टमा ह्रास आएको छ र पर्माफ्रस्ट तापक्रम वृद्धिसँगै संवेदनशील बन्छ।

आधारभूत चट्टानका चिराहरूमा जमेको बरफ पग्लिँदा पनि चट्टान थप कमजोर हुन्छ। त्यसबाट भिरालो ठाउँमा पानी छिर्छ र पहिरो ल्याउने सम्भावना हुन्छ।

वैज्ञानिकहरूले देखाएको अर्को तथ्यअनुसार फ्रिजिङ लेभल (पानी जम्ने उचाइको तह) माथि सर्दै गएको छ। ३,८०० देखि ५,१५० मिटरको उचाइमा शून्यभन्दा माथिको तापक्रम जम्ने र पग्लिने चक्रहरूको संख्या बढ्न सक्छ। यसले चट्टानका धाँजामा विभिन्न प्रकारका दबाब सिर्जना गर्छ।

रसुवाको पहिरो गएको क्षेत्रमा छोटो समयमा परिवर्तनहरू देखिएका छन्। सन् २०२५ को अक्टोबर र नोभेम्बरमा असाधारण रूपमा हिमपात भएको देखिन्छ, तर अरू वर्षहरूमा यी महिनाहरूमा निकै सुक्खा भएको इमर्जलले बताए।

‘सन् २०२५ मा ३०० मिलिमिटरभन्दा बाक्लो हिमपात भएको थियो। सन् २०२६ को गर्मी सिजनमा त्यो हिउँ अत्यधिक मात्रामा पग्लिएको हुनसक्छ। त्यसले पनि बाढी आउन प्रेरित गर्नसक्छ,’ उनले भने। त्यहाँको औसत तापक्रम अगस्टको २४ देखि २५ मा करिब ५ डिग्री सेल्सियस थियो भने ५ हजार १५० मिटरमाथि दैनिक १० डिग्री तापक्रम थियो। इमर्जलका अनुसार भूकम्प, पर्माफ्रस्ट पतन, तापक्रम वृद्धिले हिउँ पग्लिन मद्दत गरेको छ। यसमा ग्लोबल वार्मिङको योगदान देखिन्छ।

इम्पेरियल कलेज लन्डनका चरम मौसम तथा जलवायु परिवर्तनका विषयका अध्येता वेन क्लार्कले भोटेकोशीमा बाढी आउनुमा चरम मौसमी घटनाको विश्लेषण गरेका छन्। क्लार्कले दीर्घकालीन मौसमी परिवर्तनमा केन्द्रित भएर अध्ययन गरेका छन्। उक्त ठाउँ भौगोलिक हिसाबले जटिल रहेकाले कुनै विन्दुको अध्ययन गर्न चुनौती बनेको उनले बताए। जुलाई र अगस्टमा सामान्यभन्दा निकै तातो बढेको क्लार्कले बताए। ‘सन् २०२५ को सेप्टेम्बरदेखि २०२६ को अगस्टसम्म तातिने क्रम निरन्तर रहेको थियो,’ क्लार्कले भने, ‘मानवीय गतिविधिका कारण विशेष गरी जुलाई र अगस्टको वार्षिक तापक्रम १.५ डिग्रीले बढेको छ।’

उक्त दर विश्वव्यापी तापक्रम वृद्धिको औसत दरभन्दा केही बढी हो। तर, वार्षिक तापक्रम २ डिग्रीले बढेको छ, जुन विश्वव्यापी तापक्रम वृद्धिको औसत दरभन्दा निकै धेरै हो। समग्रमा नेपालमा तापक्रम वृद्धिको दर उस्तै देखिएको पनि क्लार्कले बताएका छन्।

क्लार्कका अनुसार पनि सन् १९८० पछि मनसुनमा शून्य डिग्री आइसोथर्म (वायुमण्डलको रेखाभन्दा माथि पानी जम्ने प्रक्रिया) उचाइ करिब १०० मिटरका दरले माथि सर्दै गएको छ। उनले भने, ‘दुई दशकमा मनसुन सिजनमा समग्रमा वर्षा बढेको छ तर त्यसको ठीकविपरीत हिमपात घटेको छ।’ त्यसैले पनि यी प्रवृत्तिहरू पक्कै पनि जलवायु परिवर्तनसँग जोडिएका छन् भन्ने प्रमाण पर्याप्त भएको छ।

रेडक्रस रेड क्रिसेन्ट जलवायु केन्द्रका वरिष्ठ प्राविधिक सल्लाहकार तथा वल्र्ड वेदर एट्रिब्युसनसँग काम गरेका माधव उप्रेतीले यस्ता समस्या समाधान गर्नका लागि अत्यधिक र तीव्र गतिमा विश्वव्यापी उत्सर्जन कटौती गर्नु आवश्यक रहेको बताए। उनले भने, ‘तीव्र गतिमा उत्सर्जन घटाए मात्रै जोखिममा परेका समुदायले भोग्दै आएको समस्या सम्बोधन गर्न सकिन्छ। यस्ता विषयलाई सम्बोधन गर्न ट्रान्सबाउन्ड्री सहकार्य आवश्यक छ।’

वल्र्ड वेदर एट्रिब्युसनसँग सहकार्य गरेका जलवायु अध्येता तथा अल्पविकसित देशहरूको सहायता टोली (एलडीसी) का प्रमुख मन्जित ढकालले नेपाल सरकारले जलवायु परिवर्तनका कारण घटेको घटना भन्दै बाढीपछि हानिनोक्सानी कोषमा पत्राचार गरेको विषयलाई यस अध्ययनले वैज्ञानिक पुष्टि गरिदिएको बताए। ‘यहाँ तापक्रममा आएको फेरबदलले उक्त घटनाको जलवायुसँग सम्बन्ध स्पष्ट देखिन्छ,’ हानिनोक्सानी कोषले पनि नेपालले पत्राचार गरेपछि आन्तरिक प्रक्रिया अघि बढाएको र सरकारलाई ज्यादै सकारात्मक जवाफ पठाएको जानकारी पाएको उनले बताए।

माउन्टेन हाइड्रोलोजिस्ट इमर्जलले हिमनदी र चट्टानको पूरै निगरानी गर्न सजिलो नभएकाले क्षेत्रीय स्तरबाट निगरानी गर्न सुझाएका छन्। जोखिममा रहेका करिडोर, बस्ती, पूर्वाधार, आयोजनाहरूको पहिचान गरेर संवेदनशील क्षेत्रहरूको रिमोट सेन्सिङ विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए। साथै, यसबाट हिमाली भेगमा के भइरहेको छ भन्ने निगरानी गर्न सकिने सुझाव दिए। त्यसका लागि राडार इन्टरफेरोमेट्री प्रभावकारी रहेको बताए।

चट्टानमा आएको परिवर्तन नाप्न यस्ता राडारबाट निगरानी गर्न सकिन्छ। पानीको सतह नाप्ने सेन्सर बगेर गएकाले उच्च ठाउँमा निगरानी गर्ने सिसिक्यामेराहरू राख्नुपर्छ। त्यसैगरी सिस्मोमिटरले पनि प्रभावकारी सूचना प्रदान गर्ने भएकाले यस्ता प्रविधिमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी सवारी सञ्चालनमा आएपछि नागढुंगा–मुग्लिन सडकखण्डमा सवारीको चाप बढेको छ। सवारीसाधनको चाप बढेसँगै सडकबाट उड्ने धुलोका कारण सडक आसपासका स्थानीय तथा व्यवसायीलाई सास्ती भएको छ। कृष्णभीरमा नयाँ ट्र्याक खुलेसँगै लामो समयदेखि रोकिएका तथा नियमित रूपमा गुड्ने सवारीसाधन सञ्चालनमा आएका हुन्। सवारी आवागमन बढेसँगै सडकमा धुलो उड्ने समस्या पनि बढेको स्थानीय चन्द्रमान ...
: नेपाल एलपी ग्यास उद्योग संघले प्रति सिलिण्डर २०६० मा नबढाएर बिक्री गर्ने व्यवसायीहरुलाई अनुरोध गरेको छ। भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएर ग्यास आपूर्तीमा असहज भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानी भाडा थप गरेर प्रति सिलिण्डर २१६५.३८ मा बिक्री वितरण गर्न भनेको थियो। तर कृष्णभीरमा ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत उजुरी दर्ता भएको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा सन्दर्भमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ३३ हजार ५ सय १९ उजुरी मध्ये सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत रहेको जनाएको हो ...
: अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। बुधबार भएको भेटवार्तामा नेपाल-जापान आर्थिक सहकार्यका विषयमा छलफल भएको जापानी दूतावासले जनाएको छ। भेटमा जापानले नेपाललाई उपलब्ध गराउँदै आएको आकस्मिक सहायता लगायतका विषयमा समेत छलफल भएको थियो। भेटवार्तामा प्रभावित समुदायलाई समयमै सहयोग उपलब्ध गराउने, आर्थिक पुनरुत्थान तथा दीर्घकालीन उत्थानशीलता कायम गर्ने विषयमा दुवै ...
: सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३-२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई सरकारले निरन्तरता दिएको हो। युवा जनशक्तिको ऊर्जा तथा सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने नीतिगत लक्ष्यअनुरूप युवा, श्रम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम