: कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी सवारी सञ्चालनमा आएपछि नागढुंगा–मुग्लिन सडकखण्डमा सवारीको चाप बढेको छ। सवारीसाधनको चाप बढेसँगै सडकबाट उड्ने धुलोका कारण सडक आसपासका स्थानीय तथा व्यवसायीलाई सास्ती भएको छ।
कृष्णभीरमा नयाँ ट्र्याक खुलेसँगै लामो समयदेखि रोकिएका तथा नियमित रूपमा गुड्ने सवारीसाधन सञ्चालनमा आएका हुन्। सवारी आवागमन बढेसँगै सडकमा धुलो उड्ने समस्या पनि बढेको स्थानीय चन्द्रमान तामाङले बताए।
नागढुंगा-मुग्लिन सडक पश्चिम खण्डकी आयोजना प्रमुख सजना अधिकारीका अनुसार विश्वकर्मा पूजाका कारण निर्माण कार्यमा खटिने अपरेटरहरू आज काममा नआएकाले सडकमा पानी हाल्ने काम प्रभावित भएको हो। उनका अनुसार भोलिदेखि सडकमा नियमित रूपमा पानी हाल्ने काम गरिनेछ। धुलो नियन्त्रणका लागि सडकको अवस्था हेरेर आवश्यक स्थानमा पानी हाल्ने व्यवस्था मिलाइने उनले बताइन्।
होटल सञ्चालक सन्तोष थापाका अनुसार लामो समयपछि राजमार्ग सञ्चालनमा आएर यात्रु तथा सवारीसाधनको आवागमन बढ्नु सकारात्मक भए पनि सडकबाट उड्ने धुलोका कारण व्यवसाय प्रभावित भएको छ। धुलोका कारण होटलमा खाजा खान आउने यात्रुसमेत प्रभावित हुने गरेको उनले बताए। कृष्णभीरमा नयाँ ट्र्याक खुलेसँगै राजमार्गमा सवारी आवागमन सहज बनेको छ। तर सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेका स्थानमा धुलोको समस्या देखिँदा सडकछेउका घर,पसल तथा होटल व्यवसाय प्रभावित भएका छन्।