। एसियाको सबैभन्दा ठूलो खेलमेला २०औं एसियन गेम्सको शनिबार जापानको आइची नागोयामा उद्घाटन भएको छ । जापानको आइची–नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा उद्घाटन भएको छ ।
जापानका एम्पेरर नारुहितोले २०औं एसियन गेम्स २०२६ को औपचारिक उद्घाटन भएको घोषणा गरे । जापानको राष्ट्रिय गानसँगै फ्ल्याग होस्ट गर्दै उद्घाटन समारोह सुरु भएको थियो ।
अन्तिममा एसियाडको टर्च बालेपछि २०औं एसियन गेम्सको उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्यसँगै संगितकार तारो हाकासीले प्रस्तुती दिएका थिए ।
उद्घाटन कार्यक्रममा जापानका एम्पेरर नारुहितो, एम्प्रेस मासाको, प्रिन्स अकिसिनो, २०औं एसियन गेम्स आयोजक कमिटीका अध्यक्ष ओहमुरा हिदेइकी, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिएका) शेख बिन जोअन बिन हमाद अल थानी लगायतको उपस्थिति थियो ।
सहभागी ४५ वटै राष्ट्र र रिफ्युजी टिमका खेलाडीले मार्चपास गरेका थिए । उद्घाटन समारोहमा सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए । २०औं एसियन गेम्समा एसियाका ४५ राष्ट्र र रिफ्युजी टोलीका गरी ११ हजार भन्दा बढी खेलाडीको सहभागिता छ ।
बास्केटबल, फुटबल, क्रिकेट, भलिबल, मोडर्न पेन्टाथलन, टेकबल, हक्की, सफ्ट टेनिसको खेलहरु सुरु भइसके पनि औपचारिक उद्घाटन भने शनिबार भएको हो । उद्घाटन समारोहमा मार्चपासमा बक्सिङका चन्द्र बहादुर थापा मगर र महिला कबड्डी टिमकी कप्तान मानमती विष्टले नेपालको झण्डा बोकेका थिए ।
बक्सर थापाले विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जित्दै इतिहास रचेका थिए भने मानमती चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा महिला कबड्डीमा कांस्य पदक जित्दाको टिमको सदस्य थिइन् ।
२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एसियन गेम्समा सहभागी हुने नेपाली टोलीलाई बिदाइको क्रममा नेपालबाट खेलाडी प्रशिक्षक व्यवस्थापक लगायत २११ जनाको टिम सहभागी हुने भनिएको थियो । तर, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, मन्त्रालयका सचिव चुडामणि पौडेलदेखि नेपाली टोलीको ‘सेफ दी मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता भने एसियन गेम्समा सहभागी हुन जापान आएनन् ।
सरकारका प्रवक्ता समेत रहेका पोखरेलको कार्य व्यस्तता र राखेप सदस्य सचिव मेहता १०औं राष्ट्रिय खेलकुदको तयारीका लागि व्यस्त हुने भएकोले जापान नआएका हुन् । सुरुमा नेपालबाट २२ खेल सहभागि हुने तय भएपनि अन्तिम समयमा ब्रेकिङ डान्सका खेलाडी सहभागी नहुनेपछि उक्त खेल घटेको थियो ।
राखेप सदस्य सचिव मेहता जापान नआएपछि राखेपकै उपाध्यक्ष विशाल श्रेष्ठलाई नयाँ ‘सेफ दी मिसन’ बनाइएको छ । उनी शुक्रबार जापानको टोकियो आइपुगेका थिए भने शनिबार बिहान नयाँ सेफ दि मिसन नियुक्त भएको राखेपले जानकारी दिएको हो ।
यस्तै मन्त्री पोखरेलको पनि शुक्रबारै नागोया आउने तालिका थियो । उनलाई स्वागत गर्नका लागि विमानस्थलमा एसियन गेम्सको भोलिन्टियर उपस्थित समेत भएका थिए । हरेक चार–चार वर्ष आयोजना हुने एसियन गेम्स सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको हो । जापानले तेस्रो पटक एसियन गेम्सको आयोजना गरेको हो । यसअघि सन् १९५८ मा जापानको टोकियो र सन् १९९४ मा हिरोशिमामा एसियन गेम्स आयोजना भएको थियो ।
२०औं एसियन गेम्सको सबैभन्दा ठूलो विशेषताको रुपमा इटलीबाट ल्याइएको क्रुज सिप रहेको छ । जहाँ साढे चार हजार भन्दा बढी खेलाडी बस्नेछन् । यसपटक एसियन गेम्स छुट्टै एथ्लेट भिलेज नबनाई खेलाडी र अफिसियलहरुलाई क्रुज सिप, कन्टेर र होटलहरुमा राखिएको थियो । तर खेलाडीहरुको व्यवस्थापन फितलो भएको भन्दै चीन, भारत गायत विभिन्न देशले गुनासो गरिरहेका छन् ।
एरिकाको खेल आइतबार
२०औं एसियन गेम्समा नेपालको महिला भलिबल टोलीले समूहको दुवै खेल खेलिसकेका छन् । अब आइतबारदेखि नेपालको अन्य खेलको प्रतिस्पर्धा पनि सुरु हुनेछ । नेपालबाट यसपटक पदकको मुख्य आशा गरिएको कराते स्टार एरिका गुरुङको खेल भोलि आइतबार रहेको छ । उनले महिला ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
यस्तै करातेमा अन्य तीन खेलाडी मीन बहादुर तामाङ, राकेश मानन्धर र सानुमाया थिङको खेल पनि भोलि नै छ । महिला भलिबलमा नेपालले क्लासिफिकसन म्याचअन्तर्गत आइतबार कीर्गिस्तानसँग खेल्नेछ । पौडी, उसु, टेबलटेनिसमा पनि नेपाली खेलाडीले आइतबार प्रतिस्पर्धा गर्नेछन् ।