मुख्य समाचार
प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी र भ्रष्टाचारप्रतिको नागरिक चिन्तालाई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कार्यबाट सम्बोधन गर्नुपर्ने
प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी र भ्रष्टाचारप्रतिको नागरिक चिन्तालाई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कार्यबाट सम्बोधन गर्नुपर्ने

। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी र भ्रष्टाचारप्रतिको नागरिक चिन्तालाई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कार्यबाट सम्बोधन गर्नुपर्ने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वास पनि साझा चुनौतीका रूपमा रहेको बताए ।


उनले संविधानको सफलता घोषणामा मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनमा देखिनुपर्ने धारणा राखे । उनले नागरिकले संविधानले सुनिश्चित गरेका अधिकारको अनुभूति दैनिक जीवनमै गर्न पाउनुपर्ने बताए ।

सार्वजनिक कार्यालयबाट सहज सेवा, समाजमा न्याय र सुरक्षा, युवाका लागि शिक्षा तथा रोजगारी, किसानले उत्पादनको उचित मूल्य र उद्यमीका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री थापाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । प्रदेशलाई संविधानले प्रदान गरेका अधिकारको कार्यान्वयन, आवश्यक कानून निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो । ‘अधिकार, जिम्मेवारी र स्रोतबीच उचित सन्तुलन कायम गर्नु सङ्घीयता सुदृढीकरणको आधार हो,’ उनले भने ।

बागमती प्रदेशमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले तीव्र सहरीकरण, वातावरणीय प्रदूषण, विपद् जोखिम, क्षेत्रीय असमानता र सार्वजनिक सेवामाथिको बढ्दो मागलाई चुनौतीका रूपमा औँल्याए ।

प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा काम गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री थापाले बताए । प्रशासनलाई सरल, प्रविधिमैत्री र उत्तरदायी बनाउने, सार्वजनिक खर्चमा अनुशासन कायम गर्ने तथा समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्ने विषयमा सरकारले विशेष ध्यान दिने उनले बताए । उनले कानूनको शासन, शान्ति सुरक्षा, नागरिक अधिकारको संरक्षण र विपद् उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताए ।

समारोहमा मुख्यमन्त्री थापाले भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको जलप्रलयबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायको दुःखमा प्रदेश सरकार साथमा रहेको बताए ।

विपद्का समयमा खोज, उद्धार, उपचार र राहतमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय तह, जनप्रतिनिधि, स्वयंसेवक, निजी क्षेत्र तथा सञ्चारकर्मीलाई धन्यवाद दिँदै मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रमा सुरक्षित बसोबास, अत्यावश्यक सेवा, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र जीविकोपार्जन पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउने बताए ।

संविधान दिवसको अवसरमा उनले संविधान लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, मानव अधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन र स्वतन्त्र न्यायपालिकालाई संस्थागत गर्ने आधार भएको बताए ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सर्वसाधारण बचतकर्ताको हित संरक्षण गर्नु प्रदेश सरकारको महत्त्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उनले सहकारी संस्थामा प्रभावकारी नियमन, सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको हो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो । सेनाले बिसहजारी ...
। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज (शनिबार) थप ११ वटा शव फेला परेको छ । नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ । उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका हुन् । ‘नेपाली कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउने छ,’ भिडियो सन्देशमा सभापति थापाले ...
। गत भदौमा पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो । द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा ...
। आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् । यसअघि आजै सरकारले टुँडिखेलमा संविधान दिवस आयोजना गरेको थियो ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम