मुख्य समाचार
कांग्रेस वडा अधिवेशन सकिएकै राति क्षेत्रीय प्रतिनिधिको घरमा आक्रमण
कांग्रेस वडा अधिवेशन सकिएकै राति क्षेत्रीय प्रतिनिधिको घरमा आक्रमण

: नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीस्थित दुई जनाको घरमा तोडफोड र आक्रमण भएको छ ।

कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा शनिबार राति करिब ११ः५० बजेतिर तोडफोड एवं आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भट्टराईको घरको आँगनमा रहेको गेटमा क्षति पुर्‍याइएको छ भने कार्कीको घरको झ्यालको सिसा फुटाइएको छ । कार्कीको घरमा रहेका ६ थान प्लास्टिकका कुर्सीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । कार्कीले भाडामा लिएको गाडीको सिसासमेत फुटाइएको र त्यसपछि चालकले गाडी त्यहाँबाट भगाएको बताइएको छ ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी नायब निरीक्षक (सई) कुमार राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । अस्थायी प्रहरी चौकी हसन्दहबाट समेत टोली परिचालन गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पथरीशनिश्चरे–६ गेलाबारीका अन्दाजी ३३ वर्षीय विशाल खड्का, ३५ वर्षीय निशान कार्की र ४० वर्षीय रोशन मण्डल घटनामा संलग्न रहेको खुलेको छ । तोडफोडमा संलग्नहरू फरार रहेको र खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्तले बताए ।

‘घटनाको जानकारी पाएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो । तर, घटनामा संलग्नहरू फरार भइसकेका रहेछन् । फरार भएकाको खोजी तीव्र पारेर घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ,’ पन्तले भने । उनका अनुसार घटनाको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन । घटनास्थलको अवस्था र स्थानीयसँग गरिएको सोधपुछका आधारमा अनुसन्धान अघि बढाइएको उनले बताए ।

तोडफोड गरिएका घरका धनीमध्ये विनोद कार्की २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेशसभा सदस्यका उम्मेदवार थिए । शनिबार सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट कार्की र भट्टराई क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए । घटना हुँदा भने दुवै जना घरमा थिएनन् । घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेका विशाल खड्का पनि शनिबारकै वडा अधिवेशनबाट कांग्रेसको वडा सदस्यमा चयन भएका थिए ।

स्थानीयका अनुसार तोडफोड गर्न पुगेको समूहले विनोद कार्कीका दाजु बलराम कार्कीमाथि समेत हातपात गरेको छ । स्थानीय युवा भव्य मग्रातीमाथि पनि आक्रमण भएको र कुटपिटबाट उनी सामान्य घाइते भएको बताइएको छ ।

विनोदका दाजु बलरामका अनुसार करिब २० जनाको समूह घरेलु हतियारसहित राति घरमा आएको थियो । उक्त समूहले सुरुमा विनोद कार्की र ईश्वर भट्टराईलाई खोजेको र दुवै जना घरमा नभेटिएपछि तोडफोड सुरु गरेको उनले बताए । कार्की र भट्टराई छिमेकी हुन् । ‘पार्टीको वडा अधिवेशनमा कुनै विवाद भएको थिएन । नेतृत्व सर्वसम्मत चयन भएको हो । तर, के कारणले तोडफोड गरियो भन्ने यकिन छैन । पार्टीको वडा अधिवेशनमै सहभागी भएकाहरू तोडफोडमा संलग्न छन्,’ बलरामले भने ।

आक्रमणकारीको समूह मदिरा सेवन गरेर आएको हुन सक्ने उनको आशंका छ । आफूलाई समेत समूहले हातपात गर्न थालेपछि घर पछाडिको बाटो हुँदै भागेर ज्यान जोगाएको उनले बताए । ‘विनोद कार्की र ईश्वर भट्टराईलाई नै लक्षित गरेर आक्रमण गर्ने योजनासहित उक्त समूह आएको थियो । तर, दुवै जना घरमा थिएनन् । घरमै भएको भए जे पनि हुन सक्थ्यो,’ बलरामले भने ।

स्थानीयका अनुसार कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत शनिबार भएको वडा अधिवेशन सौहार्दपूर्ण रूपमा सम्पन्न भएको थियो । अधिवेशनमा कुनै विवाद नभएको र नेतृत्व सर्वसम्मत चयन भएको उनीहरूको भनाइ छ । तर, अधिवेशन सकिएको केही समयमै मध्यराति घरमा आएर तोडफोड र आक्रमण भएपछि स्थानीय त्रसित बनेका छन् ।

प्रहरीले घटनाको कारण, तोडफोडमा संलग्न व्यक्तिहरूको भूमिका तथा अन्य व्यक्तिको सम्भावित संलग्नताका बारेमा समेत अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको टिप्पणी गरिन् । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनीकरण तथा ...
। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाएका छन् । सरकारविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको पनि उनको दाबी छ । नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताए । विद्रोहमा उत्रिएका ...
: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन्। शनिबार संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रुपमा नै नागरिकको जीवनसंग जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने बताए। संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई ...
। सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको प्रदेश २–०३–०१९ प ३०७ नम्बरको मोटरसाइकलले सोही दिशामा रहेका एक पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ७० ...
। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोगको प्रस्ताव राखेका छन् । संविधान दिवसमा अवसरमा शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रस्ताव राखेका हुन् । उनले संविधान संशोधनको बाटोमा एकताबद्ध भएर इमानदार ढंगले अभियान सुरु गर्नुपर्ने बताएका छन् । त्यसका लागि पहिले निश्चित समय दिएर संयुक्त संघीय संसद्बाट शुद्ध रूपमा विषयविज्ञ सम्मिलित एक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम