: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी, संसद र सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ।
पार्टी कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले समसामयिक विषयवस्तुमा छलफल गर्दै पार्टी, संसद र सरकारलाई शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार बैठकले बाढीपछि स्थगित रहेको रास्वपाको जनसंगठनको काम सुरू गर्ने निर्णय भएको बताए।
त्यस्तै विगत केही महिनामा मधेसमा भएका विभिन्न घटना क्रमबारे अडिट रिपोर्ट तयार भएको र त्यस अडिट रिपोर्टकै आधारमा मधेस रास्वपाले कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता खरेलको भनाइ छ।
त्यस्तै रास्वपाले विगतदेखि नै राइट टु रिकलको एजेण्डा उठाउँदै आएको र अब कार्यान्वयनको दिशातर्फ लैजान आवश्यक रहेको बैठकमा छलफल भएको छ। सोही अनुसार कार्यदल बनाएर राइट टु रिकलका सम्बन्धमा आवश्यक व्यवस्था गरिने उनले बताए।
त्यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतका भ्रमणका सम्बन्धमा बैठकमा ब्रिफिङ गरेका थिए। उनले भारत भ्रमण फलदायी भएको र बाढीपछि भारत सरकारले गरेको सहयोगप्रति सरकारको तर्फबाट आभार प्रकट गरेको जानकारी गराएका थिए।