: काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रुपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आवद्ध भएका हुन्।
रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरुले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने महानगरपालिका र नगरपालिकाहरुमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका छन्।
सम्झौता भएसँगै गएरातिबाटै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो। समारोहमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताइन्।
उनले भनिन्,‘परीक्षण कालमा अभ्यास गरिएको २ वटा रुटमा ४ वटा थपेका छौँ। ७ वडा गाडीलाई ३० वटा पुर्याएका छौँ। ४ वटा नगरपालिकाको सहकार्यमा ९ वटा पुगेका छौँ। यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ। अब यो सेवा रोकिँदैन, निरन्तर चल्छ, दिगो चल्छ।’ उनले भनिन्,‘संविधान र कानुनमा लेखिएका कुरा कागजमा सीमित हुने होइन। नागरिक तहमा अनुभूत हुनुपर्छ। हाम्रा लागि प्रशासनिक सीमाले छुट्टिएर होइन, नागरिकको आवश्यकतालाई महत्वपूर्ण मानेर सहकार्यमा आधारित सेवा विकास र विस्तार गर्नुछ। यसलाई व्यवहारिक रुपमा सफल बनाउन हामी सबै एकीकृत लक्ष्यसहित अगाडि बढेका हौँ।’
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संघ सरकारले नै उपत्यकाबासीको यातायात सहजताका लागि मेट्रो सञ्चालनको योजना ल्याउनु पर्ने भएपनि नआएपछि स्थानीय तह जुटेको बताए। ‘उपत्यकाबासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालनका विषयमा योजना ल्याउनु पर्ने थियो। त्यो विषय अहिले आएको देखिएन। मेट्रो नभएपछि बीआरटी (बस र्यापिड ट्रान्जिट) हुनुपर्थ्यो। त्यसको पनि केही संकेत छैन।’ उनले भने, ‘संघबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन। यसकारण हामीले स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ। यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ।’
कुन कुन रुट विस्तार भए ?
विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, साविक लगनखेल–बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिनेछ।
यसअघि लगनखेलदेखि बुढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो। सेवाको प्रभाव तथा मूल्याङ्कन, लाभलागत विश्लेषणका आधारमा नाफा घाटाभन्दा सेवा ठुलो कुरा भएको निष्कर्ष निकालिएको थियो।
रात्रीकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सातवटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसंख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको छ। सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ।
रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन्। ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ। सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन्।
निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ। चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन्।
रात्रीकालीन सार्वजनिक यातायात सेवा प्रभावकारी बनाउन सम्बन्धित महानगरपालिका तथा नगरपालिकाले नियमित अनुगमन गरी साझा यातायातलाई आवश्यक सुझाव दिनेछन्। सम्झौताको कार्यान्वयन बारे कम्तीमा त्रैमासिक रूपमा सम्बन्धित पक्षको उपस्थितिमा प्रगति समीक्षा बैठक बस्ने र साझा यातायातले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने प्रावधान राखिएको छ।
सहमतिले, यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत यस प्रकारको बस सेवा विस्तार गर्ने बाटो खुला गरेको छ।
उपत्यकामा रातको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार भएपछि अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक सेवामा आवतजावत गर्ने नागरिकका लागि सार्वजनिक यातायातको विकल्प थपिने अपेक्षा गरिएको छ। साथै, रात्रिकालीन सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउने तथा निजी सवारी साधनमा निर्भरता घटाउने दिशामा समेत यो व्यवस्थाले आधार तयार गर्नेछ। यस्तै अन्य निजी यातायात व्यवसायीलाई पनि सेवामा आउन प्रोत्साहित गर्नेछ।
चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ। साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ, काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ शेयर लगानी छ। अहिले साझा यातायातमा १११ वटा बस छन्।