: यातायात व्यवस्था बिभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ।
चार्डपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका बिषयमा सोमबार काठमाडौंमा सरोकारवाला निकायसंग छलफल गर्दै बिभागले हाल जारी विपद् र केहि दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्र दसैँको अग्रिम टिकट बुकिङ खुला गर्नु उपयुक्त हुने सरोकारवालाहरूको सुझावअनुसार आवश्यक निर्णय गरिने जनाएको हो। साथै चाडपर्वमा चल्ने लामो दूरीका सवारीसाधनको ’भेहिकल फिटनेस टेस्ट’ औपचारिकतामा मात्र सीमित नगरी कडाइका साथ वास्तविक परीक्षण गरेर मात्र रूट परमिट दिन निर्देशन दिइने बिभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए।
उनले सडक जाम नियन्त्रण, सवारी छुट्ने समयको पालना, तथा राजमार्गका होटल, खाजाघर र शौचालयको गुणस्तर एवं सरसफाइ अनुगमन गर्न गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवार बनाइने बताए।
बाढी र पहिरोका कारण बीपी राजमार्ग वा हेटौँडा जोड्ने बाटो लगायतका राजमार्गहरु तत्काल सफा र मर्मत गर्न पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई पत्राचार गरिने बिभागका महानिर्देशक पोखरेलको भनाई छ। पोखरेलले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि भाडादर नबढ्ने गरी मूल्य स्थिर राख्न उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत पहल गरिने निर्णय भएको बताए।
छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले भाडा समायोजन र चाडपर्वमा इन्धन मूल्य स्थिर राख्ने आग्रह गरे। यातायात व्यवस्था विभागले १ वर्षको भाडा समायोजन गरिदिएकोमा प्रशंसा गर्दै केही प्राविधिक त्रुटिहरू सुधार गर्न उनको आग्रह छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि राज्यले घाटा बेहोरेर भए पनि आजकै मितिबाट चाडपर्वभर पेट्रोलियम पदार्थको मूल्य नबढाउन उनले सुझाव दिए।