: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका हुन्।
निर्देशन पालना नगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढाएपछि राखेपले पटक–पटक सचेत गराएको र अटेरीपछि परिषद्को २०८२ चैत ११ गतेको निर्णयानुसार ऐनको दफा २९ (२) बमोजिम एन्फालाई निलम्बन गरिएको उनले बताए । पछि एन्फाबाट परेको निवेदनउपर कारबाही गर्दै २०८३ जेठ १ गते सो निलम्बन फुकुवा गरिएको उनले जानकारी दिए।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन अनुसार दिएको निर्देशनलाई फिफाले ’तेस्रो पक्षको हस्तक्षेप’ ठहर गरेको र यसैका आधारमा फिफाले आफ्नो विधान बमोजिम सूचना नभएसम्मका लागि एन्फालाई निलम्बन गरेको जानकारी गराएको उनले बताए।
त्यस्तै,मन्त्री पोखरेलले नेपाल–चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भई थाइल्याण्डमा उपचाररत आशिष राईलाई राखेपको स्वीकृत बजेटको सीमाभित्र रहेर उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिए।