मुख्य समाचार
गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव
गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव

। गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ ।

यो विधेयक यही असोज ५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा दर्ता गरेकी छन् । जसमा सुरक्षित गर्भपतन सम्बन्धी प्रावधान र परिभाषामा परिवर्तन गरिएको छ ।

मूल ऐनको दफा १५ मा सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था छ । जहाँ पाँचवटा अवस्था राखिएको छ ।

(क) गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भ,

(ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलांग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरी बमोजिम अठ्ठाईस हप्तासम्मको गर्भ,

(ग) जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले अठ्ठाईस हप्तासम्मको गर्भ,

(घ) रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ,

(ङ) भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ ।

यसमध्ये खण्ड (ख) मा मा संशोधन गर्ने प्रस्ताव विधेयकमा छ । ‘अठ्ठाईस हप्तासम्मको’ भन्ने शब्दहरूको सट्टा ‘जतिसुकै अवधि’को भन्ने शब्द राख्ने प्रस्ताव प्रस्तावित विधेयकमा छ ।

यसअनुसरा प्रचलित ऐन संशेधन भएमा गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलांग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरी बमोजिम जतिसुकै अवधिको गर्भ पतन गर्न पाउने अधिकार हुनेछ ।

यहाँनेर खण्ड ख१ थप्ने पअर्को प्रस्ताव छ ।

जहाँ ‘अठार वर्षभन्दा कम उमेरको बालिकाको हकमा जबर्जस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएमा जतिसुकै अवधिको गर्भ’ पतन गर्न पाउने अधिकार हुने भनेर लेख्ने प्रस्ताव गरिएको छ ।

यसैगरीभ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा जतिसुकै अवधिको गर्भ पत गर्न पाउने व्यवस्था पनि प्रस्तावित छ ।

यस्तो अवस्थामा हाल प्रचलित ऐन अनुसार अठ्ठाईस हप्तासम्मको गर्भ पतन गर्न पाउने व्यवस्था छ ।

यी लगायतका व्यवस्थामा संशोधन प्रस्ताव गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयक ल्याएकी छन् ।

उनका अनुसार विशेष अवस्थामा गर्भपतन गर्नुपर्ने व्यवस्थालाई थप एवं संशोधन गर्ने, वलपूर्वको गर्भपतन सम्बन्धी अवस्था थप तथा संशोधन गर्ने, थप भएका व्यवस्थालाई कसूर कायम गरी त्यसबापत सजाय समेतको व्यवस्था गरिएको छ ।

विधेयकअनुसार गर्भावस्था र सुत्केरी अवस्थामा हिंसा निषेध हुनेछ । गर्भ अवस्थादेखि सुत्केरी अवस्थासम्मका महिलालाई कुनै पनि किसिमको शारीरिक, मानसिक वा यौनजन्य हिंसा गर्न नइन्कार गरिने र यस्तो गरेमा सजायको भागीदार हुनुपर्ने प्रावधान थपिएको छ ।

पैसालाई देखाएर सेवा इन्कार गर्न नपाइने प्रावधान पनि राखिएको छ । पैसा नभए पनि अस्पताल पुगेकी गर्भवती महिलालाई अस्पतालले सेवा दिनुपर्ने प्रस्ताव गरिएको छ ।

विधेयकअनुसार आर्थिक वा अन्य कुनै कारणले गर्भाधान वा प्रसूति सेवा प्रदान गर्न कुनै पनि स्वास्थ्य संस्थाले इन्कार गर्न पाउने छैनन् ।

यसबाहेक प्रस्तावित विधेयकमा तालिम प्राप्त प्रसूतिकर्मीबाट प्रसूति सेवा प्रदान गर्ने, प्रसूति सेवा प्रदान गर्न इन्कार गर्न नहुने, सुत्केरी अवस्थाका महिलाहरू प्रति हिंसा गर्न नहुने लगायतका विषय समेटिएको छ ।

विधेयकमा सरकारी तथा गैरसरकारी वा निजी निकायमा कार्य गर्ने महिलालाई सुत्केरी हुनु अघि पछि गरी छ महिनाको तलब सहितको सुत्केरी बिदा दिने व्यवस्था छ । पुरुष कर्मचारीको पत्नि सुत्केरी हुँदा ४२ दिन तलब सहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्तावित छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...